Logo
Logo

हिमालको आँसुमा बगेका मान्छेहरू


भुपेन्द्र थापा ‘माधव’

0
Shares

हिमाल सेतै थियो हिजो,
आज उसको छातीमा
कालो बादलको घाउ छ-
ल्हेन्देको भेलमा
कसले सुनेन
हिमालको अन्तिम चिच्याहट?

हिमाल भत्कियो,
चट्टानहरू कराए,
नदी एकाएक उठ्यो–
पानी मात्र बगेन,
आमाका सपना बगे,
बाबुका सहारा बगे,
बालकका भविष्य बगे।

रसुवागढीको किनारमा
एउटी आमा अझै उभिएकी छिन्–
हातमा छोराको तस्वीर,
आँखामा एउटै प्रश्न–
“मेरो छोरो
भेलसँगै गयो कि
कुनै किनारमा
अझै मलाई पर्खिरहेको छ?”

ल्हेन्देले भोटेकोशी रुवायो,
भोटेकोशीले त्रिशूली,
त्रिशूलीले बेत्रावती हुँदै
नुवाकोटका आँगनमा
मृत्युको खबर ल्यायो।

कसैको घरमा
ढोका बाँकी छ,
तर फर्किने मान्छे छैन।
कसैको सिरानीमा
स्पर्श बाँकी छ,
तर बोलाउने आवाज छैन।

नदीले ढुंगा मात्र बगाएन—
सिन्दूर बगायो,
ममता बगायो,
अधुरो प्रेम बगायो,
भर्खर उम्रिएको भविष्य बगायो।

बाढी घट्यो,
तर आमाका आँखाको
बाढी घटेन।

त्रिशूली शान्त छ,
तर किनारका आमाहरू
अझै चिच्याइरहेका छन्–

“मेरो मान्छे कहाँ छ?”

सरकारका हेलिकप्टर उडे,
उद्धारका हातहरू खटिए,
तर एउटा प्रश्न
भग्नावशेषमुनि अझै दबिएको छ–

मानिस बगिसकेपछि
उद्धार गर्ने राज्य,
बग्नुअघि
किन खबर बनेन?

हिमाल रोयो,
नदी रगताम्य भयो–
हामी बाँचेका आँखाले
मृत्यु गनिरह्यौँ।

घर फेरि उठ्ला,
पुल फेरि जोडिएला,
सडक फेरि बन्ला–

तर
हराएको मान्छे
कुनै राज्यले
फेरि बनाउन सक्दैन।
त्यसैले, हे हिमाल–
अब यति धेरै नरोऊ,
तिम्रा आँसुमा
फेरि कुनै आमाको संसार
नडुबोस्।

तिम्रो रुवाइ
राज्यले सुनोस्,
नदीको रगताम्य पानीमा
मानिसको पीडा पढोस्।

किनकि
आज हिमालको आँसुमा
बगेका ती मान्छेहरू
भोलिको हाम्रो चेतनाका
सबैभन्दा कठोर प्रश्न हुन्।

प्रतिक्रिया दिनुहोस्