काठमाडौं । टंगाल स्थित भाट-भटेनी सुपर स्टोर असोज ०५ गते सोमबार देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । उक्त स्टोर भोलीदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

जेनजी आन्दोलनमा ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारी र भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न दिएको छैन ।
भाट-भटेनी कर्मचारीलाई रोजगारीबाट अलग नगरी गत वर्ष भदौ २४ लगत्तैको दसैँमा प्राप्त गर्ने बोनससमेत कटौती नगरी पुनः सञ्चालन भएका स्टोरहरूमा उनीहरूको भूमिकालाई निरन्तरता दिएको थियो ।
अधिकृत पानु पौडेलले भने, ‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिसिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ । तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थाल्यौँ ।’
आगजनीको पाँच महिनामा पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर सञ्चालनमा ल्याइएको छ । क्रमिक रूपमा बिस्तारै जलेका भवन ठड्याउँदै एक पछि अर्को गरी अहिलेसम्म आगजनीले ध्वस्त भएका १२ मध्ये दसवटा स्टोर पुनःसञ्चालनमा ल्याउन सफल भएको पौडेलले बताए ।
बाँकी रहेका दुईवटा स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै पुनःसञ्चालनमा आउनेछन् भन्ने विश्वास पौडेलको रहेको छ । दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ । यी स्टोरबाट पनि छिटो ग्राहक सेवा पुनः सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको र पुनःनिर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको पौडेलले बताए ।
पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनःनिर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन भाट-भटेनी सफल भएको छ ।
काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि दिने भनेको सहयोग पनि दिएर सञ्चालनमा ल्याउन पाउँदा आफूहरूलाई निकै खुसी लागेको पौडेलले बताए । त्यस अस्पतालका लागि भाटभटेनीले ७१ करोड बढी रकम खर्च गरेको छ । नेपाली बालबालिकाले एउटै भवनमा अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा प्राप्त गरुन् भन्ने हाम्रो उद्देश्य थियो ।
भाट-भटेनीले दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरू, चौबीसै घण्टा खटेर पुनःनिर्माणको काममा साथ दिने कर्मचारीवर्ग, स्टोर पुनःसञ्चालनको पर्खाइमा बसेका ग्राहकप्रति हामी नमन व्यक्त गरेको छ ।















