काठमाडौं । चीनकी १३ वर्षीया पौडी खेलाडी यु जिदीले एसियाली खेलकुदको पहिलो दिन महिलातर्फ २०० मिटर बटरफ्लाइ प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

यु जिदीले २ मिनेट ०५.०८ सेकेन्डमा दौड पूरा गरी एसियाली खेलकुदमा नयाँ कीर्तिमान बनाएकी हुन् । यु जिदीको समय उनकी स्वदेशी झाङ युफेईको तीन वर्षअघिको रेकर्डभन्दा लगभग आधा सेकेन्ड कम हो । उनले आफ्नो टोलीका साथी चाङ मोहनलाई ३ सेकेन्डभन्दा बढी समयले पछि पार्दै स्वर्ण पदक जितेकी हुन् ।
यु जिदीलाई २०२८ को लस एन्जलस ओलम्पिकको लागि चीनको उदाउँदो पौडी खेलाडीमध्ये एक मानिन्छ । उनले एसियाली खेलकुदमा थप दुई व्यक्तिगत प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछिन् ।
यसअघि यु जिदीले १२ वर्षको उमेरमा विश्व च्याम्पियनसिपमा पदक जितेर चर्चा कमाएकी थिइन् । गत वर्ष उनी चीनको ४x२०० मिटर फ्रिस्टाइल रिले टोलीमा थिइन् र कांस्य पदक जितेकी थिइन् । योसँगै उनी विश्व च्याम्पियनसिपमा पदक जित्ने सबैभन्दा कान्छी पौडी खेलाडी बनिन् ।















