Logo
Logo

एमाले सचिवालय बैठक : कार्यदलको प्रतिवेदनलाई केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय


0
Shares

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: yamale.jpg

सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय समितिमा प्रश्तुत गर्ने निष्कर्ष निकालेको हो । पार्टीको केन्द्रीय कमिटी बैठकका लागि एजेण्डाहरू तय गर्दै कार्यदलको प्रतिवेदनलाई सोही समितिमा लैजाने निर्णय पनि गरेको छ । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टकाअनुसार सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची तयार पारेको छ ।

उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू समावेश छन् । पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूबारे उपमहासचिव भट्टले कार्यदलको काम सकिएको र प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय समितिमा लैजाने प्रक्रिया सुरु भएको बताए ।  उनले भने, ‘हिजो कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको छ । प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रीय समितिमा प्रश्तुत गरिनेछ ।’

पार्टी अध्यक्षको रिजर्भेसन (विमति) का बारेमा सोधिएको प्रश्नमा भट्टले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनजस्ता विषयहरूमा पहिले नै सहमति भइसकेको र अहिले त्यसमा कुनै विवाद नरहेको स्पष्ट पारे । २९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको सन्दर्भमा उनले अब त्यसमा थप बहसको आवश्यकता नरहेको सङ्केत गरे। केन्द्रीय समितिमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आवाज उठाउने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले बैठकको थप प्रक्रिया र त्यहाँ हुने बहसका आधारमा नै आगामी रणनीति तय हुने बताए । 

प्रतिक्रिया दिनुहोस्