
काठमाडौं । जर्मनीको राजधानी बर्लिनस्थित नेपाली दूतावासको वेबसाइटमा कर्मचारीको सम्पर्क विवरणमा कार्यवाहक राजदूत, प्रथम सचिव र तृतीय सचिवका लागि एउटै टेलिफोन नम्बर राखिएको पाइएको छ ।
दूतावासको वेबसाइटमा कार्यवाहक राजदूत नारायणप्रसाद वाग्ले, प्रथम सचिव रञ्जन यादव र तृतीय सचिव दिपेन्द्र प्रसाद शाहको नाम तथा पदसँगै +४९ (०३०) ३४३५९९२० मोबाइल नम्बर राखिएको छ । यसरी विदेशस्थित कुटनीतिक नियोगको कार्यालय प्रमुखको दूतावासको वेबसाइटमा सम्पर्क विवरण अद्यावधिक तथा व्यवस्थापनबारे गम्भीर प्रश्न उठेको छ ।
यसबारे दूतावासका कार्यवाहक राजदूत नारायणप्रसाद वाग्लेसँग बुझ्न उनको व्यक्तिगत ह्वाट्सएपमा पटक–पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।
कार्यवाहक राजदूत– न म्यासेज हेर्न सक्छन्, न फोन उठाउँछन्
अढाई महिना अघि बर्लिनस्थित दूतावासमा कार्यवाहक राजदूतको रुपमा आएका वाग्ले सेवाग्राहीसँग सम्पर्कमा आउनै चाहँदैनन् ।
‘सरको एउटा आँखामा समस्या छ, त्यही भएर म्यासेज पढ्न गाह्रो हुन्छ’, दूतावासका एक कर्मचारीले टेलिफोन सम्पर्क भने, ‘तर फोन पनि सरले खासै उठाउनु हुन्न । यसरी दशवटा देश हेर्ने दूतावास कसरी चल्छ होला र ?,
बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित, पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ ।
यसैबीच, कार्यालय नआएर एकै दिन ४२ दिन हाजिर गरेका दूतावासका प्रथम सचिव रञ्जन यादवलाई नेपाल फर्काएर कारबाही गर्न माग गर्दे राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।














