Logo
Logo

निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिन्छु : ओली


0
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले भोगेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका छन् ।

सोमबारदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै उनले चुनावी पराजयको जिम्मेवारी लिने बताएका हुन् । यद्यपी, उनले मैदान छाडेर नभाग्ने प्रस्ट पारेका छन् ।

बिरामी देखेर चिकित्सकले अस्पताल र बालीमा रोग देखेर किसानले खेत नछोडेजस्तै सङ्कटका बेला नेतृत्वले पार्टीलाई अलपत्र पार्न नमिल्ने जिकिर ओलीले प्रतिवेदनमा गरेका छन् ।

निर्वाचन परिणामले पार्टीलाई गम्भीर आघात पु¥याएको स्वीकार्दै उनले पराजयलाई बहाना बनाएर एक–अर्कामाथि हिलो छ्याप्ने वा निराशामा डुब्ने दुवै बाटो गलत भएको उल्लेख गरेका छन् । यस विषम घडीमा कठोर आत्मसमीक्षा, तथ्यगत प्रतिवाद र साङ्गठनिक पुनर्निर्माणको तेस्रो बाटो रोज्नुपर्ने उनको भनाइ छ ।

प्रतिवेदनमार्फत अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व पुस्तान्तरण र पुनर्गठनका नाममा उठाइएका मागहरूको कडा प्रतिवाद गरेका छन् । पार्टी पुनर्गठन लहड वा रहरको विषय नभई इतिहासमा बाध्यात्मक परिस्थितिमा मात्र गरिने कदम भएको स्मरण गराउँदै उनले अहिले नेतृत्व विस्थापनको मनसायले ‘बेमौसमी बाजा’ बजाइएको दाबी गरेका छन् ।

रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणलाई सही अर्थमा बुझ्नुपर्नेमा जोड दिँदै उनले पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा नकाटिने र जरालाई पोषण दिएर मात्र नयाँ पालुवा हुर्काइने दृष्टान्त पेस गरे। उमेर कम हुँदैमा स्वतः योग्यता र बढी हुँदैमा अयोग्यता नहुने तर्क गर्दै उनले ऊर्जा र अनुभवको संयोजनबाटै पार्टी अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्