Logo
Logo

गणेशमानले भनेझैँ साँच्चै जनता भेडा नै हुन् ?


शरद रिजाल

126
Shares



नेपाली राजनीतिमा मात्रै नभएर विश्वभर एउटा स्थापित मान्यता छ– जनता नै राजनीतिक इतिहासका निर्माता हुन् । अझै हाम्रो मुलुकमा त झनै गणतन्त्रात्मक व्यवस्थाको आगमनपछि सार्वभौमसत्ता नै जनतामा निहीत रहेको कुरा संविधानमै उल्लेख छ ।

हरेक देशमा जनता नै सर्वेसर्वा हुन् र शासक पनि जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने तथ्य अकाट्य छ । तर कहिलेकाही जनताले विवेकभन्दा आवेग र सत्यभन्दा भ्रमको पछि लागेर निर्णय गर्दा त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने अवस्था समेत आउन सक्छ । हाम्रो देशमा पनि बदलाभाव र प्रतिशोधस्वरुप पात्र र दल विशेष परिवर्तनबाट विकल्प खोज्ने मनोवृत्ति र त्यसबाट सिर्जित जनादेशले घातक परिणाम निम्त्याउने संशय बढाउँदै लगेको छ । यसलाई जनताको जनमत भनेर मात्रै पन्छिन मिल्दैन । त्यसले निम्त्याउने परिणाम पनि हेर्नुपर्ने हुन्छ ।

जनता नै सार्वभौम एवं सम्प्रभु हुन् भने, बारम्बार जनतामाथि नै उपेक्षा गर्दै विद्रोह गर्ने वातावरण हरेक शासकहरुले किन बनाउँदै आएका छन् ? हरेक विद्रोह या आन्दोलनमा जनतालाई बलिभेदीमा पु¥याउने तर सत्तारोहण गरेर तिनै जनता भुल्ने अन्त्यहीन श्रृंखला किन चलिरहेको छ ? अर्कोतर्फ, आम जनताले पनि आवेश र प्रतिशोध साँधेर गलत पात्रलाई सत्ताको बागडोर सुम्पिएर आफ्नै खुट्टामा बारम्बार बन्चरो हान्ने काम किन हुँदै आएको छ ? यी प्रश्न अहिले प्रखररुपमा नेपाली राजनीतिको सतहमा आएको छ ।

विगतदेखिकै श्रृंखलाबद्ध राजनीतिक परिवर्तन र त्यसको पृष्ठभूमि निर्माणका रहस्यमय परिघटनाको पूर्वानुमान हुँदाहुँदै पनि नेपालीजनले त्यसलाई अनुमोदन गर्दै आइरहेका छन् । यसअघिदेखि अहिलेसम्मका हरेक राजनीतिक घटनाक्रममा एकै प्रवृत्ति दोहोरिएपछि नेपाली जनमाथि नै एउटा गम्भीर प्रश्न तेर्सिने अवस्था आएको छ । सर्वमान्य नेता गणेशमान सिंहले भनेझैँ साँच्चै जनता भेडा नै हुन् त ?

हरेक नागरिकको राजनीतिमा सबैभन्दा ठूलो ज्ञानको आधार भनेकै उसको अनुभव हो । ठूला ठूला विश्वविद्यालयबाट आर्जन गरेको प्राज्ञिक अध्ययन भन्दा पनि मानव जीवनका अनुभव नै हरेक मानिसका लागि शिक्षाप्रद र उपयोगी हुन्छन् । अनुभवबाट सिक्ने सामथ्र्य नभएको मानिस मूर्ख, मनोरोगी या त अबोध नै हो । तर नेपाली राजनीतिको दुखद् पक्ष के हो भने नेपाली जनताले अनेकौं हण्डर र राजनीतिक धोकाधडीबाट पटक पटक आजित हुँदा पनि त्यसबाट अझै पाठ सिक्न खोजेको देखिँदैन । गत वर्षकै जेनजी आन्दोलन यताका परिघटना नियाल्दा पनि त्यसको रणनीतिक उद्देश्य निकै रहस्यमय र नियोजित रहेको आजसम्म आउँदा उदांगो भएको छ ।

कुनै पनि हिंसात्मक आन्दोलन अमुक पात्रको सत्तारोहणको अस्त्र होइन र त्यस्तो बनाइनु पनि हुँदैन । त्यसले मुलुकको राष्ट्रिय संकटलाई सम्बोधन गर्ने सामथ्र्य राख्नुपर्छ । यदि कसैले हिंसात्मक विद्रोहबाट सत्तारोहणको मनोकांक्षा पालेको छ भने त्यो पाशविक शासकीय मनोवृत्ति हो । गत वर्ष भदौ २३ र २४को जेनजी आन्दोलनमा एकै दिन दुई दर्जन नवयुवाले ज्यान गुमाउन पुगे भने त्यसकै दुस्परिणामस्वरुप अर्को दिन मुलुक नै जल्ने अवस्था निम्तियो । त्यसकै आधारमा कतिपय पात्र र दल राष्ट्रिय राजनीतिमा पुनरोदय गर्दै सत्ताको बागडोर सम्हालेका छन् । तर त्यो आन्दोलनमा भएका रहस्यमय पाटोहरुको न्यायिक निरुपण गर्ने प्रयत्न समेत गरेका छैनन् ।

उल्टै जेनजी स्मृति दिवसमा आयोजित कार्यक्रममा बोलाउँदा त्यही आन्दोलनको अघोषित नेतृत्व गरेका प्रधानमन्त्री बालेन साहलेसमेत उपस्थित हुन अरुचि देखाएका छन् । र, जेनजी शहिदकी आमाले संसद बैठकमै प्रधानमन्त्रीप्रति दुखेसो पोख्न बाध्य हुनुपर्ने अवस्था निम्तिएको छ । जसको बलिदानीको जगबाट दुई तिहाइको सरकार निर्माण भयो, तिनै शहिद र शहिद परिवारमाथि अवमूल्ययन गर्ने काम सत्ता सञ्चालकबाट हुनु निकै दुखद् र विडम्बनापूर्ण अवस्था हो ।

जेनजी आन्दोलनमा सहभागी भएका निहत्था स्कुले विद्यार्थीको बलिदानले मुलुकमा पुरानो संसद विघटन गरेर फागुन २१ मा नयाँ निर्वाचन भएको हो । त्यही निर्वाचनबाट रास्वपाले दुई तिहाई मत ल्याएर नै बालेन प्रधानमन्त्री बनेका हुन् । तर त्यही शान्तिपूर्ण आन्दोलनमा दमन गरेर एकै दिन १९ जना युवाको कत्लेआम गर्ने तत्कालीन शासकहरुमाथि कारबाही गर्ने आँट सरकारले नगर्दा ‘खोलो तर्यो लौरा बिस्र्यो’कोे नियति देखापरेको छ ।

मुलुकमा अहिलेसम्म भएका आन्दोलनमध्ये सबैभन्दा छोटो तर निकै भयावह आन्दोलन पनि त्यही जेनजी आन्दोलन हो । यसले मुलुकको खर्बौंको क्षति पुर्याउने गरी भौतिक सम्पदा नष्ट पारेको छ । सिंहदरबार, सर्वोच्च र संसद भवनसहित देशभर सार्वजनिक एवं निजी धरोहर खण्डहर बनाएको छ । भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा दमन र २४ गतेको विध्वंश दुबै निकै रहस्यमय रहेको त्यतिबेलै देखिएको थियो । २३ गते सुरक्षा चुक हो या घुसपैठ अनि, २४ को मुलुकै जलाउने महाविध्वंशको निर्देशनकर्ता को हो ? एक वर्ष हुँदा पनि त्यसको सत्य तथ्य निरुपण हुन नसक्दा वर्तमान सरकारप्रति चौतर्फी रुपमा प्रश्न उठ्न थालेको छ ।


अझै अहिले त सोही आन्दोलनको सत्यतथ्य छानबिन गर्न गठित आयोगका पदाधिकारीले नै अहिले सार्वजनिक रुपमा झनै खरो अभिव्यक्ति दिन थालेका छन् । २३ गते आन्दोलन सुरु गर्नु अगावै नै दमनको पूर्वजानकारी पाए जसरी एम्बुलेन्स र चिकित्सकीय टोली नै तैनाथ गरिएको र त्यसको सम्पूर्ण पूर्वजानकारी आन्दोलनका अगुवा हालका गृहमन्त्री सुधन गुरुङलाई भएको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सार्वजनिक रुपमै बताएका छन् । उनको यस प्रकारको अभिव्यक्ति सार्वजनिक भएपछि त्यो घटनामा हाल सत्तासीनहरुको भूमिका झनै रहस्यमय र संदिग्ध रहेको आशय प्रकट गरेको छ ।

जेनजी विद्रोह भएको करिब एक वर्ष पार भयो भने त्यही आन्दोलनकै उपज काठमाडौं महानगरको बाँकी कार्यकाल छाडेर बालेनले मुलुककै सत्ताको बागडोर सम्हालेको पनि करिब ६ महिना नाघिसक्यो । तर पनि कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकार डराइरहेको छ । सरकारको त्यसप्रति मौन एवं उदासिनता र छानबिन आयोगका अध्यक्षको सनसनीपूर्ण खुलासाले पनि कतै त्यो घटना नियोजित त थिएन भन्ने आशंका अझै बढाएको छ ।
गत वर्षकै जेनजी आन्दोलनमा हालका प्रधानमन्त्री बालेन साहले नै जेनजी युवा विद्यार्थीलाई आन्दोलनमा होम्न उद्येलित गर्दै संसद विघटन र सेनासँग वार्ता गर्न सुझाएका थिए । संयोग हो या नियोजित उनैको अप्रत्यक्ष निर्देशन अनुरुप नै तत्कालीन राजनीतिक घटनाक्रम अघि बढेको थियो । त्यसै अनुसार बालेनले पनि महानगरबाट राजीनामा दिएर जेनजी आन्दोलनमाथि दमनको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा ५ पुगेर भारी मतले चुनाव जिते ।

झापाबासीले पनि जेनजी आन्दोलनलाई न्याय गर्ने अपेक्षासहित बालेनलाई अत्याधिक मतले विजयी बनाए । तर अहिलेसम्म जेनजी आन्दोलनलाई न्याय दिने तवरले उनी अघि बढेका छैनन् । यसले कतै उनी फगत सत्तारोहणका लागि मात्रै जेनजी आन्दोलनलाई उपयोग मात्रै गरेका त हैनन् भन्ने गम्भीर प्रश्न उठेको छ । राजनीतिमा आन्दोलनताकाको प्रतिबद्धता र कार्यान्वयनको अनिच्छा बीचको विरोधाभाषले नै अनेकौं आशंका जन्माउँछ । र, अहिले बालेनको गतिविधि पनि त्यतैतर्फ उन्मुख भएको उनको ६ महिने कार्यकालले प्रतिबिम्बित गरेको छ ।

त्यसोत, काठमाडौं महानगरकालदेखि नै उनलाई दलविरोधी पात्रका रुपमा खडा गरेर उनको अस्वाभाविक तवरले ब्राण्डिङ गरियो । नियोजित रुपमै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उनको प्रचारबाजी गर्दै परम्परागत दलप्रतिको असन्तुष्टिको समाधान गर्ने एकमात्र विकल्पका रुपमा उनलाई प्रस्तुत गरिएको थियो । सामाजिक सञ्जालबाट ब्राण्डिङ गरेर उठाइएका उनी कुनै राजनीतिक दल आबद्ध नेता कार्यकर्ता भने होइनन् ।

उनी काठमाडौंको मेयर भएदेखि नै उनको चरित्र एकलकाटे अराजनीतिक थियो भन्ने कुरा तत्कालीन संघीय सरकारलाई चीन र भारतले बनाइदिएको भन्दै सामाजिक सञ्जालमा दुत्कार्दै आइरहेका थिए । काठमाडौं महानगरको फोहर सिंहदरबारमा अगााडि फाल्ने उनको दुस्साहसका अगाडि तत्कालीन सरकार प्रतिक्रियाविहीन भएर निरीह जस्तो बनेको थियो । सिंहदरबार जलाइदिने धम्की दिँदा समेत कसैले उनलाई कानुनी प्रश्न गर्न सकेन । उनी बेलगाम सरकार र दल विरुद्ध आगो ओकल्थे ।

त्यसयता गत वर्षको जेनजी आन्दोलनको उत्प्रेरक रहेका उनले आन्दोलन उत्कर्षमा पुगेर मुलुकको प्रशासनिक संरचना सिंहदरबारमा आगो लागेर मुलुक राज्य विहीन अवस्थामा पुगेको बेलामा गैरजिम्मेवार तवरले अलप भएका थिए । अन्ततः उनले सामाजिक सञ्जालमार्फत संसद विघटन र सेनासँग वार्ता गर्न सुझाएर आन्दोलनको अघोषित स्वामित्व लिएपछि उनको अघोषित सहभागिता सार्वजनिक भएको थियो ।

काठमाडौं महानगरमा हुँदा सामाजिक सञ्जाल मार्फत अलौकिक छवि बनाइएका उनको कार्यक्रमिक परिणाम भने केही पनि उल्लेख्य थिएन । अझै कतिपय सन्दर्भमा त उनको हठ एवं जनतासँग साक्षात्कार नगर्ने अन्तर्मुखी स्वभावले काठमाडौंबासी जनता रुष्ट बन्न थालेका थिए । अहिले उनै बालेन प्रधानमन्त्री भएको ६ महिनासम्म पनि आफूलाई सत्तामा पुर्याएको जेनजी आन्दोलनलाई न्याय गर्न नसकेर समग्र जनताको अपेक्षामाथि नै कुठाराघात गरेका छन्् । यसले ‘बोकेको कुकुरले मृग मार्दैन’ भन्ने तथ्यलाई उनको ६ महिने कार्यकालले सर्वांग उदांगो पारिसकेको छ ।

यसअघि एमसीसी विरोधी आन्दोलनमा सडकमा गोली खान तयार भएर आन्दोलित भएको नेपाली जमात चुनावमा भने त्यही एमसीसी पक्षधर दल र नेतालाई जिताउन दिलोज्यान लगाएको अनौठो दृश्य देखापरे जस्तै महानगर चलाउन असक्षम देखिए पनि गत आम निर्वाचनमा भने प्रधानमन्त्रीको उम्मेदवार रहेका उनै बालेनको दललाई जनताले दुई तिहाई बहुमत दिलाएर सत्ताको बागडोर सुम्पिन पुगे । यसले एउटै पात्रलाई पनि फरक आवरणका रुपमा प्रस्तुत गरे स्वीकार्ने नेपाली जनताको परम्परागत मनोदशाकै पुनरावृत्ति गर्न पुग्यो ।

त्यतिमात्रै होइन पुराना दल परित्याग गरेर रास्वपाबाट उम्मेदवार भए त्यो नयाँ कहलिने र अन्य दलका सक्षम उम्मेदवार भए पनि पुरानाको बिल्ला भिर्नुपर्ने अनौठो अवस्था मुलुकमा देखाप¥यो । त्यसकै उपज रहस्यमय पात्र प्रधानमन्त्रीको नयाँ उम्मेदवारको आवरणमा प्रस्तुत गर्दै दुईतिहाइ बहुमत दिलाएको परिघटनाले नेपाली जनता साँच्चै नै गणेशमानले भनेझैँ ‘भेडा नै हुन्’ कि जस्तो लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्