Logo
Logo

किन ‘जोकर फाल्तु’ बने पोखरेल ?


- दृष्टि न्युज/संवाददाता


त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य भइरहँदा त्यसको प्रखर विरोधी तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल यतिबेला पार्टी विभाजन गर्न सफल भएका छन् । एमालेको नवौं महाधिवेशनबाट ओली गुटका महासचिव बनेका पोखरेललाई माओवादीसँग पार्टी एकता गर्दा महासचिव पदबाटै हटाइएको थियो । नवौं महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका पोखरेललाई पार्टी एकतापछि ओलीले ‘जोकर फाल्तु’ बनाए । अहिले उनै पोखरेल ओली गुटका निर्णायक नेता बनेका छन् । तर पनि उनलाई प्रधानमन्त्री ओलीले ‘जोकर फाल्तु’ नै बनाएर राख्न चाहेको कुरा कामचलाउ सरकार पुनर्गठनबाट प्रष्ट भयो । ओलीले जुली महतोलाई महिला, बालबालिका मन्त्रालयको जिम्मेवारी दिइरहँदा पोखरेल बिना विभागीयमै थन्किए । भन्न त पोखरेललाई उपप्रधानमन्त्री भनिएको छ, त्यसको कुनै अर्थ छैन । दिनहुँ सिंहदरबार जाने र आफ्नो आसेपासेसँग गुटका गफ चुटेर बालुवाटार फर्कनेबाहेक उनलाई महत्वपूर्ण निर्णयहरु गर्ने अधिकार दिइएको छैन । किन ओलीले पोखरेलमाथि यति ठूलो अन्याय गरिरहेका छन् र किन त्यो अन्याय पोखरेलले सहिरहेका छन् भन्ने कुरा आम कार्यकर्ताको चासोको विषय बनेको छ ।

एमालेको नवौं महाधिवेशनदेखि आफूलाई ओलीको उत्तराधिकारी ठान्ने पोखरेललाई पार्टी एकतापछि किन ओझेलमा पार्न खोजियो भन्ने कुराको रहस्य भारतका सेनापति मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणसँग पनि जोडेर हेर्न सकिन्छ । भारतीय स्थल सेनापति नरवणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनलाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउनु भारतलाई खुशी पार्ने ओलीको चालबाजी हो भन्ने बुझिन्छ । ओली राष्ट्रवादी, पोखरेल भारतविरोधी भएको देखाउनका लागि पोखरेललाई ओलीले ‘जोकर फाल्तु’ कै रुपमा प्रयोग गरिरहेका छन् । हुनसक्छ, बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनमा झलनाथ खनाललाई जिताउन पोखरेलले खेलेको भूमिकाको फल अहिले भोग्दैछन् । नभए, मओवादीसँग पार्टी एकता भइसकेपछि ओलीपछिको दोस्रो वरियतामा रहेका पोखरेल ‘जोकर फाल्तु’ हुने थिएनन् ।

प्रधानमन्त्री ओलीले पोखरेललाई त्यतिबेला हटाएका छन्, जतिबेला यतीको गोकर्ण रिसोर्ट जग्गा विवाद र ओम्नीलगायतको ठेक्का विवादमा पोखरेल मुछिएका छन् । माओवादीसँग चुनावी तालमेलले काठमाडौं क्षेत्र नं ५ बाट २३ हजारभन्दा बढी मत ल्याएर सांसद जितेका पोखरेलका लागि ‘ओम्नी’ फलामको च्यूरा सावित हुनेछ र त्यही कारण उनी आगामी निर्वाचन पनि हार्नेछन् । संसद् विघटन गरेर वैशाखमा निर्वाचन मिति तोकिसकेपछि कामचलाउ सरकारमा पोखरेललाई गृह, अर्थ, शिक्षा, स्वास्थ्य, जलस्रोतमध्ये एउटा मन्त्रालयको जिम्मेवारी दिएको भए उनले काम गरेर देखाउने मौका पाउने थिए । तर, दुर्भाग्य उनको मन्त्रिमण्डलमा हृदेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, टोपबहादुर रायमाझीको जति पनि हैसियत रहेनछ भन्ने कुरा ओलीले देखाइदिए ।

तसर्थ, पोखरेलले आफ्नो राजनीतिक भविष्य जोगाउने हो भने ओली गुट छाडेर पार्टी एकताको पक्षमा उभिनुबाहेक अर्को विकल्प छैन । किनभने, ओलीले आफ्नो उत्तराधिकारीका रुपमा शंकर पोखरेललाई भित्रभित्रै तयार गर्दैछन् । यो कुरा पोखरेलले समयमा नबुझ्ने हो भने उनको हालत पनि केशरमणि पोखरेलको जस्तै हुनेछ भनेर राजनीतिक टिप्पणीकारहरुले विश्लेषण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्