Logo
Logo

प्रेम प्रस्ताव त कति आउँछ, आउँछ- प्रतिज्ञा भण्डारी, मोडल


- दृष्टि न्युज/संवाददाता


‘सानैदेखि मोडलिङमा इच्छा र रुचि थियो’ अधिकांश मोडल तथा कलाकारले दिने ‘रेडिमेड’ उत्तर हो यो । तर, मोडल प्रतिज्ञा भण्डारीको भनाइ अलि फरक छ । पछिल्लो समय मोडलिङ र अभिनयमा व्यस्त प्रतिज्ञा भन्छिन्, ‘अचानक कलाकार भएँ ।’ सुनसरी रामधुनीकी प्रतिज्ञा डान्स सिक्दासिक्दै मोडलिङमा होमिएकी हुन् । डान्स सिक्दै गर्दासमेत कलाकार बन्छु भन्ने उनको सोचाइ थिएन । जब डान्स प्रशिक्षणले ‘मोडलिङमा तिम्रो भविष्य छ’ भनेपछि हौसिएकी प्रतिज्ञा भन्छिन्, ‘अहिलेचाहिँ मलाई पनि यो क्षेत्रमा केही गर्न सक्छु भन्ने हिम्मत आएको छ ।’ ‘मिस ब्युटिफूल नेपाल–२०१८’मा पार्टिसिपेन्ट भएपछि मोडलिङमा करिअर अगाडि बढाएकी प्रतिज्ञा हिजोआज ‘जुठे’ नामक सिरियलमा व्यस्त छिन् । मोडलिङ र अभिनयलाई एकसाथ अँगाल्दै आएकी प्रतिज्ञाले कलाकारितालाई ‘साइट जब’का रुपमा मात्र लिएकी छन् । ‘विजनेश वुमेन’ बन्ने लक्ष्य लिएकी प्रतिज्ञा पद्म कन्या क्याम्पसकी छात्रा हुन् । उनै कर्मशकी विद्यार्थी तथा मोडल प्रतिज्ञा भण्डारीसँग दृष्टिको जम्काभेट :

अहिले के गर्दै हुनुहुन्छ ?

हिजोआज ‘जुठे’ नामक सिरियलमा व्यस्त छु । यो सिरियलको नाम अहिले नै नखुलाउ भन्ने शर्त थियो । तर, तैपनि भनिहालेँ । अहिले यो सिरियलको सुटिङ काभ्रेको रजबासमा भइरहेको छ ।

‘जुठे’ कस्तो किसिमको सिरियल हो ?

यो पनि अहिले खुलाउन मिल्दैन । अहिले यति नै भनौँ, ‘पारिवारिक ड्रामा’मा आधारित छ ।

यो क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ ?

म यो क्षेत्रमा लागेको धेरै भएको छैन । दुई वर्ष हुँदैछ । कला क्षेत्रमा अहिलेसम्म म नयाँ नै छु ।

कलाकारितामा कसरी प्रवेश गर्नुभयो ?

अचानक यो क्षेत्रमा लागेकी हुँ । डान्स सिक्दा–सिक्दै मोडलिङमा लागेकी हुँ । कलाकार बन्छु भनेर डान्स सिकेकी होइन । साथीहरुले डान्स गरेको देखेर सिक्न थालेकी हुँ । तर, डान्स सिक्दै जाँदा साथीहरु र मेरो डान्स प्रशिक्षकले ‘तिमी यो क्षेत्रमा राम्रो गर्न सक्छौं’ भनेपछि हौसिएर यता लागेकी हुँ ।

सानो हुँदा कलाकार बन्छु भन्ने सोच्नुभएको थिएन ?

आमा–बाबाका अनुसार सानोमा फिल्म र टिभी हेर्दा ‘हिरोइन बन्छु’ भन्थेँ रे । तर, मलाई थाहा भएदेखि कलाकार हुन्छ भनेर सोच बनाइँन । कलाकार हुनका लागि एउटा माध्यम चाहिन्छ । तर, मलाई कलाकार कसरी बन्ने पनि थाहा थिएन ।

कलाकारिता कस्तो लागिरहेको छ ?

रमाइलो । यो क्षेत्रमा लागेर नाम पाएकी छु । प्रतिज्ञा भनेर चिनिन थालेकी छु । गर्न सक्यो भने कलाकारितामा नाम र दाम दुवै छ ।

कलाकारिताको सुरुवात मोडलिङबाटै हो ?

सुरुवात डान्सबाट हो । स्टेज कार्यक्रमहरुमा नाच्थेँ । स्टेजमा नाच्दानाच्दै ‘मेरी बास्यै’ सिरियलमा अभिनय गर्ने अवसर पाएँ । त्यसपछि अहिले मोडलिङ, अभिनय र स्टेज कार्यक्रम सबैमा उपस्थित जनाउँदै आएकी छु ।

म्युजिक भिडियोहरुमा पनि मोडलिङ गर्नुहुन्छ ?

गर्दै आएकी छु । अहिलेसम्म आधा दर्जन भिडियोमा मोडलिङ गरेकी छु । धेरैजसो चाहिँ सिरियलहरुमै काम गर्दै आएकी छु ।

तपाइँको प्राथमिकता मोडलिङ कि अभिनय ?

अहिलेसम्म यकिन गरेकी छैन । म नयाँ छु । त्यसैले जे अफर आउँछ । त्यही गर्ने हो । व्यस्त भइयो भने प्राथमिकता निर्धारण गर्नुपर्ला ।

हाम्रो कला क्षेत्र सानो तर प्रतिस्पर्धा चर्को छ । आफूलाई कसरी अगाडि बढाउने सोच बनाउनुभएको छ ?

म प्रतिस्पर्धामा जान्न । आफ्नै तरिकाले अगाडि बढ्ने हो । यही क्षेत्रमा स्थापित भएर जीवन कटौँला भन्ने मेरो सोच छैन । म कर्मशकी विद्यार्थी हुँ । त्यसैले भविष्यमा विजनेश गर्ने उद्देश्य लिएकी छु । कलाकारिता मेरो साइट जब मात्र हो ।

फिचर फिल्मतिर जाने सोच छैन ?

अहिलेसम्म सोचेकी छैन । अर्को कुरा मेरो उचाई कम छ । हिरोइन हुनका लागि त हाइट चाहिन्छ नि । त्यसैले फिल्ममा काम गर्ने सोच बनाएकी छैन ।

ग्ल्यामरस क्षेत्रमा प्रेम, रोमान्स र विछोडलाई सामान्य लिइन्छ भनिन्छ, तपाइँलाई यस्ता प्रस्ताव कतिको आउँछ ?

एउटी केटी मान्छे हुँ, नआउने कुरै हुँदैन । प्रस्ताव छ कति आउँछ, आउँछ, तर छान्ने काम आफूमा भरपर्छ । अहिलेसम्म मन परेको मान्छे छानेकी छैन ।

 

प्रतिक्रिया दिनुहोस्