Logo
Logo

राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन् : पूर्वराजा ज्ञानेन्द्र 


0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको अवसरमा देशमा राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा सामाजिक क्षेत्र अन्योल र असमञ्जसको अवस्थामा रहेको बताएका छन् । उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र देशभक्तिको भावना बलियो बनाउन सबै नेपालीलाई आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: king.jpg

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले गत भदौमा आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै विपत्तिको सामना गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

‘यस वर्षको बडादसैँमा पनि हाम्रा निम्ति सुखद रहने भनी दश गते भोटेकोशीमा परेको भीषण बाढीले विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा र यही असोजमा परेको अविरल वर्षा तथा देशको भूभागमा आएको बुढीगण्डकी बाढीका कारण जनधनको अपार क्षति हामीले भोग्नु पर्यो,’ सन्देशमा भनिएको छ ।

उनले विपत्तिपछि क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र पीडित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । साथै, बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परामा आँच आउन नदिनुपर्नेमा जोड दिएका छन् ।

पूर्वराजा शाहले नेपालको पहिचान भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै भनेका छन्, ‘नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो ।’

उनले देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गर्दै राज्य प्रणाली सञ्चालनमा देखिएका कमजोरी सुधार्नुपर्ने बताएका छन् । उनका अनुसार सुशासन, निष्पक्षता, जनउत्तरदायी व्यवस्था र राष्ट्रिय एकता सुदृढ बनाउनु आवश्यक छ ।

‘नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना झन् बलियो बन्दै जाओस्। विभाजित होइन, एकताबद्ध नेपाल, परनिर्भर होइन आत्मनिर्भर नेपाल, कमजोर होइन सबल र सक्षम नेपाल निर्माण गर्ने सोच हामी सबैमा जागृत होस्,’ सन्देशमा भनिएको छ ।

उनले बडादसैँले सत्य, न्याय र शक्तिको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै सबै नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्