Logo
Logo

किसानको पीडामा राज्य तमासे नबनोस्


उमेश बन्जाडे

0
Shares


किसानी कर्म एउटा यस्तो पेसा हो, जहाँ बिहान आँखा खुलेदेखि राति निद्राको काखमा नपुग्दासम्म फुर्सदको सास फेर्न मुस्किल पर्छ । अरू पेसामा कामको समय निर्धारण होला, बिदा र विश्रामको व्यवस्था होला, तर किसानको जिन्दगीमा न घडी हेरेर काम रोकिन्छ, न थकाइ लाग्यो भन्दैमा जिम्मेवारीबाट उम्किन मिल्छ । घाम उदाउनुअघि खेतमा पुग्नुपर्ने, घामले टाउको पोल्दा पनि माटोसँग पसिना साटिरहनुपर्ने र साँझको अँध्यारोले संसार छोपिसक्दा पनि भोलिको खेतीपातीको चिन्तामा डुबिरहनुपर्ने नियति किसानको जीवनसँग गाँसिएको हुन्छ ।

किसानका लागि ऋतुहरू केवल पात्रोका पाना मात्र होइनन्, ती आशा र निराशाका फरकफरक अध्याय हुन् । किसानका लागि वर्षा जीवन र चुनौती दुवै हो । घाम उसका लागि उब्जनीको ऊर्जा र बाली सुकाउने संकट पनि हो । उसले माटोमा बीउ छर्दा केवल अन्न रोपेको हुँदैन, आफ्ना सन्तानको भविष्य, परिवारको खुसी, वर्षभरिका आवश्यकता र हजारौँ सपनासमेत रोपेको हुन्छ । तर विडम्बना, त्यही बीउबाट उम्रिएको सपना कहिले राज्यको लापरबाहीले ओइलाउँछ, कहिले बजारको बेइमानीले निमोठिन्छ त कहिले प्रकृतिको निर्मम प्रहारले आँखैअगाडि बगाएर लैजान्छ । किसानको जीवन साँच्चिकै विचित्रको छ । उसले अरूको भोक मेटाउन रातदिन पसिना काढेर अन्न फलाउँछ, तर आफ्नै परिवारको भविष्य सुरक्षित गर्न भने हरेक वर्ष अनिश्चिततासँग लडिरहनुपर्छ ।

हामी अहिले संसारको जुनसुकै कुनामा रहेर जुनसुकै पेसा गरिरहेका किन नहोऔँ, हाम्रो जीवन र किसानको पसिनाबीचको सम्बन्ध कहिल्यै टुट्न सक्दैन । किसानको पसिनाबिना हाम्रो पेट पनि भरिन्न । हामी सरकारी कार्यालयमा काम गरौँ वा निजी संस्थामा, उद्योगमा श्रम गरौँ वा विदेशका मरुभूमिमा पसिना बगाऔँ, हाम्रो भान्सामा पाक्ने एक गाँस भातको सम्बन्ध अन्ततः कुनै न कुनै किसानको खेतर पसिनासँग जोडिएको हुन्छ । थालमा सजिएको भात देख्दा हामीलाई चामलको मूल्य सम्झना आउला, तर त्यो चामल उत्पादन गर्न किसानले चुकाएको मूल्य सम्झने फुर्सद हामीलाई हुँदैन ।

बजारमा तरकारी महँगो भयो भने हामी व्यापारीलाई गाली गर्छौँ, चामलको मूल्य बढ्यो भने सरकारलाई प्रश्न गर्छौँ, तर त्यो अन्न उत्पादन गर्ने किसानले मल, बीउ, सिँचाइ, श्रम र ऋणको भार कसरी थेगिरहेको छ भन्नेबारे प्राय हामी बेखबर नै हुन्छौँ ।

अस्ति भर्खरैको कुरा हो, देशभरका किसानहरू रासायनिक मल नपाएर हप्तौँसम्म सहकारी, बिक्री केन्द्र र सम्बन्धित कार्यालयका ढोकामा लाइन लागिरहेका थिए । कतै मल आउने खबर सुनेर बिहानैदेखि लामबद्ध भएका किसान साँझसम्म रित्तो हात घर फर्किरहेका थिए भने, कतै मल पाइने आशामा खेतबारीको काम छाडेर दिनभरि पालो कुरिरहेका थिए ।

राज्यको उदासीनता र अव्यवस्थासँग जुध्दै मलको जोहो गरेका किसानले बल्लतल्ल खेतमा धान रोप्न पाए । पसिना बगाए, गोडमेल गरे र बाली पनि हुर्काए । समयसँगै खेतका फाँटहरू हरियालीले भरिए, धानका बाला झुल्न थाले । किसानका आँखामा थोरै भएपनि नयाँ आशा पलाउन थालेको थियो । आफ्ना खेतमा झुलिरहेका धानका बाला कुनै पनि किसानका लागि सुनको गहनाभन्दा कम मूल्यवान् हुँदैनन् । किनभने, त्यसमा उसको श्रम, समय, लगानी र जीवनको ठूलो हिस्सा मिसिएको हुन्छ ।

तर जब किसानले आफ्नो परिश्रमको फल भित्र्याउने समय नजिकिएको ठान्छ, त्यही बेला प्रकृतिले पनि कहिलेकाहीँ यस्तो कठोर परीक्षा लिन्छ कि वर्षभरि साँचेर राखेको उसको आशा एकै रातमा निराशामा बदलिन्छ । अहिले पाक्न लागेको धान डुबाउने बाढी, खेतमा पानी जमाउने अविरल वर्षा र भित्र्याउने तयारीमा रहेको बालीलाई क्षति पु¥याउने विपत्तिले किसानको मनमा कस्तो आँधी चलाउँछ, त्यसको अनुभूति खेतमा पसिना नबगाएको मान्छेले सजिलै गर्न सक्दैन ।

वर्षभरि पसिना बगाएर, घामपानी नभनी खेतबारीमा खटिएर, ऋणधन गरी अनेकौँ दुःखकष्ट सहेर जेनतेन पाक्न लागेको धान भित्र्याउने बेला प्रकृतिले नै किसानमाथि निर्मम प्रहार गरिरहेको छ । यतिबेला खेतमा धानका बाला झुल्नुपर्ने हो, किसानका अनुहारमा खुसी छाउनुपर्ने हो, घरआँगनमा नयाँ अन्न भित्रिने उत्साह हुनुपर्ने हो । तर विडम्बना, धान काटेर स्याहार्ने बेलामा भइरहेको लगातारको वर्षाले किसानको मुटुमा बज्रपात बर्साएको छ । खेतमा पाकेको धान छ, तर भित्र्याउन अनुकूल मौसम छैन । आँखाअगाडि वर्षभरिको मेहनत छ, तर त्यो मेहनतलाई सुरक्षित घरसम्म ल्याउन सकिने हो कि होइन भन्ने चिन्ताले किसानलाई पिरोलिरहेको छ ।

मुलतः किसानलाई चुनावका बेला मात्रै सम्झिने राजनीतिक संस्कारले पनि कृषि क्षेत्रको वास्तविक समस्या समाधान गर्न सकिरहेको छैन । चुनावी भाषणमा किसानलाई देशको मेरुदण्ड भनिन्छ, कृषिलाई अर्थतन्त्रको आधार भनिन्छ, कृषि क्रान्तिका सपना सुनाइन्छन्, तर किसानले समयमै मल नपाउँदा, बालीको उचित मूल्य नपाउँदा वा बाढीले धान डुबाउँदा ती भाषणका शब्दहरू कहाँ हराउँछन्? किसानको पक्षमा बोल्नेहरू त धेरै देखिए । यद्यपि, आजका मितिसम्म नेतृत्वमा रहेर किसानको पक्षमा काम गर्नेहरू भेटाउन सकिएको छैन ।

अरूका लागि असामयिक वर्षा सामान्य घटना होला, तर किसानका लागि यतिबेलाको वर्षा जीवनभर बिर्सन नसकिने पीडा बनिरहेको छ । खेतमा काटेर राखेको धान भिजिरहेको छ, कतै काट्न बाँकी धान ढलेको छ, कतै पानीले खेत भरिएको छ, कतै भिजेको धान कसरी सुकाउने भन्ने चिन्ता बढेको छ । यो वर्षाले धानको दाना मात्र होइन, किसानले वर्षभरि देखेका सपना पनि भिजाएको छ । खेतमा अन्न फलाउन किसानले कति दुःख सहन्छन् भन्ने कुरा सहरका सुविधा सम्पन्न घरमा बसेर सहजै अनुमान लगाउन सकिँदैन । तर किसानको पसिनाले फलाएको त्यही अन्नले नै सबैको भान्सा चल्छ, पेट भरिन्छ र जीवन धानिन्छ भन्ने सत्यचाहिँ हामी कसैले बिर्सन मिल्दैन ।

दुःखको कुरा त के छ भने, किसानले खेती गर्दा मल, बीउ, सिँचाइ, श्रम र उत्पादन लागतको समस्या झेल्नुपर्छ । बाली भित्र्याउने बेलामा मौसमको जोखिम बेहोर्नुपर्छ । अझ उत्पादन बजारमा पु¥याउँदा उचित मूल्य नपाउने अर्को पीडा सहनुपर्छ । खेती गर्दा आकाशको भर, बाली भित्र्याउँदा मौसमको भर र उत्पादन बेच्दा बजारको भर! आखिर किसानले आफ्नो श्रमको उचित प्रतिफल पाउने दिन कहिले आउँछ ? देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने भाषण गर्नेहरूले खेतमा भिजिरहेको धान र किसानको अनुहारमा फैलिएको यो गहिरो निराशालाई कहिले देख्ने होलान् ?

प्रकृतिको अगाडि मानिसको केही नलाग्ला, तर प्राकृतिक विपत्तिबाट किसानलाई जोगाउन राज्यले गर्न सक्ने राहतका कामहरू अवश्य छन् । मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी बनाउने, स्थानीय तहबाट किसानलाई समयमै जानकारी दिने, आवश्यक परे धान स्याहार्न सहयोग जुटाउने, क्षतिको वास्तविक विवरण सङ्कलन गर्ने र प्रभावित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने काम राज्यको जिम्मेवारीभित्र पर्छन् ।

किसानलाई भाषण होइन, संकटका बेला साथ चाहिएको छ । आश्वासन होइन, आवश्यक पर्दा राज्यको सहयोगी हात चाहिएको छ । मौसम पूर्वानुमान महाशाखाले ’मनसुन बाहिरियो’ भने पछि किसानहरू धान काट्न खेतमा पसे । तर दुःखद कुरा, हप्ता दिन नबित्दै फेरि वर्षा सुरु हुन थाल्यो । उसोत राज्यका निकायबाट बर्सेनि ठगिँदै आएका किसानहरूलाई यसपालि प्रकृतिले पनि नराम्रोसँग ठगेको छ ।

प्रकृतिले किसानलाई ठग्छ भन्नुको अर्थ प्रकृतिको नियत हुन्छ वा उसले जानाजान किसानमाथि अन्याय गर्छ भन्ने होइन । प्रकृति त आफ्नै नियममा चल्छ । कहिले जीवन दिन्छ, कहिले विनाशकारी शक्ति प्रदर्शन गर्छ । तर राज्यको जिम्मेवारी भनेको त्यही प्रकृतिको जोखिमलाई बुझेर नागरिकको जीवन र जीविकालाई सुरक्षित बनाउनु हो ।

त्यसैले देशको समृद्धि किसानका खेतमा फल्ने अन्नसँग जोडिएको छ । किसानको खेत सुरक्षित छैन भने हाम्रो खाद्य सुरक्षा पनि सुरक्षित छैन । जहाँ किसानको श्रमको सम्मान हुँदैन त्यो देश कहिले पनि आत्मनिर्भर बन्न सक्दैन । दैनिक जीवनमा चाहिने दाल, चामल, आलु, प्याजजस्ता हामीले उत्पादन गर्न सक्ने वस्तु पनि आयातमा भर पर्नुपर्ने हुन्छ । त्यसैले यतिबेला किसानको पीडालाई सामान्य मौसमी समस्याका रूपमा लिएर बेवास्ता नगरौँ । पाकेको धान भित्र्याउन किसानलाई सम्भव भएसम्म सहयोग गरौँ, क्षति पुगेको छ भने राहतको मल्हमपट्टीले किसानलाई सहयोग गरौं । पीडामा परेका किसानका पक्षमा आवाज उठाऔँ ।
लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्