Logo
Logo

दुवै मिर्गाैला फेल भएका प्रिजलको उपचार खर्चका लागि याचना !


0
Shares


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पेशलकुमार मगर र दुर्गा आलेमगर आफ्ना चार वर्षीय छोरा प्रिजलको दुवै मिर्गाैला फेल भएपछि खर्च अभावका कारण थप उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन् ।

यही कात्तिक १२ गते सामान्य वान्ता गरेपछि कान्तिबाल अस्पताल काठमाडौँमा पुर्याइएका छोराका दुवै मिर्गौलाले काम नगरेको र थप उपचारका लागि भारततर्फ लैजानुपर्ने सुझाव सम्बन्धित चिकित्किसबाट आएसँगै अहिले उनीहरू थप समस्यामा परेका छन् ।

आफन्त तथा भाइसाथीको सरसापटीमा कान्ति बालअस्पतालमा यही कात्तिक १३ गते भर्ना गरिएका प्रिजलको अहिले सोही अस्पतालको आइसियू (सघन उपचार कक्ष) मा उपचार भइरहेको छ । बुवा पेशलका अनुसार जसोतसो स्वदेशमै उपचार गराइरहेको अवस्थामा थप उपचारका लागि गम्भीर बिरामी अवस्थामा रहेका छोरालाई विदेश लैजानुपर्ने सुझाव चिकित्सकबाट आएपछि बाध्य भई मनकारीजनसँग हात थाप्नुपर्ने अवस्था आएको छ ।

अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाबसमेत नगरेका प्रिजलको उपचार नेपालका कुनै पनि अस्पतालमा सम्भव नहुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दिनानुदिन स्वास्थ्य अवस्था बिग्रदै गएको प्रिजललाई कान्तिबाल अस्पतालले भारतको नयाँ दिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिएको उनले बताए ।

‘आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गराइरहेका छौँ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले यहाँ ठीक हुँदैन भनेका छन् । विदेशमा लगेर उपचार गर्ने खर्च हामीसँगै छैन’, उनले भने, ‘भारतको अस्पतालमा उपचार गर्न रु एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो । यत्रो पैसा कसरी जुटाउनु ! सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइदिन अनुरोध गर्दछु ।’

जीवन र मरणको दोसाँधमा रहेका प्रिजलको जीवन रक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिनहुन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सुरु गरिएको छ । प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताए ।

‘प्रिजल मगर बचाऔँ’ अभियानका सदस्यहरुले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जालका साथै प्रत्येक्ष भेट गरेर उपचारमा सहयोग गरिदिन अनुरोध गरिरहेका छन् । आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं. २२७०१००००३१९००१० अथवा क्यूआर उपलब्ध गराइएको छ ।

छोराको गुणस्तरीय शिक्षाका लागि काठमाडौँमा कोठा भाडामा बस्दै आएको अवस्थामा एकमात्र सन्तान प्रिजलको दुवै मृगौला फेल भएको जानकारी अस्पतालबाट पाएसँगै पेशल दम्पत्तिले उपचारका लागि भारत लैजानुपर्ने छोराको उपचारका लागि सक्दो सहयोग गरिदिनुहुन सबैसँग अनुरोध गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000