
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउने बताएका छन् ।
यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
प्रधानमन्त्री शाहले पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको र यमुनाले विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेको प्रसङ्ग उल्लेख गरेका छन् ।
यमुनाको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन दिदीबहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको सन्देशमा उल्लेख छ ।
यसै मान्यताअनुसार भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको धाराले छेक्ने र सप्तरङ्गी टीका लगाइदिने परम्परा रहेको छ । साथै विभिन्न मिष्ठान्न परिकार खुवाएर दाजुभाइप्रति प्रेम र सद्भाव प्रकट गर्ने चलन छ ।
त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


















