Logo
Logo

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो


0
Shares

सुनसरी । आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिवार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको थियो ।

The current image has no alternative text. The file name is: bayapar.jpg

छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका अवसरमा यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी पूजाका लागि फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ ।

रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले छठ पर्वका अवसरमा तीनचार दिनमै रु तीन लाखभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताए । उनले भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री खरिद गरेर ल्याई बिक्री गर्दै आएका छन् । स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले पहाडी क्षेत्र तथा भारतबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए । 

अर्का व्यापारी रितेश रौनियाले छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यसको माग बढ्ने गरेको बताए ।  छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत बनेको उनको भनाइ छ । तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उनले बताए । आफैँले सामग्री बनाउन नसकिने भएकाले भारतबाट खरिद गरेर ल्याई झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको उनले जानकारपि दिए । 

यसैबीच, आज मनाइने छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न गरिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने यस पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका छन् ।

सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला, सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ र सजावट गरिएको छ। पूजास्थलमा दीप, रङ्गोली तथा बत्तीको व्यवस्था मिलाइएको छ । सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत जिल्लाका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने गरिन्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000