Logo
Logo

अर्थतन्त्र बढ्दा उद्योगमा लगानी खुम्चिँदै


0
Shares

काठमाडौं । अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुधार देखिए पनि मुलुकको औद्योगिक क्षेत्र भने निरन्तर संकुचनको दबाबमा देखिएको छ । उत्पादनमूलक उद्योगको वृद्धिदर लगातार ऋणात्मक बन्दै जाँदा औद्योगिक गतिविधि सुस्ताएको मात्र छैन, अर्थतन्त्रको समग्र वृद्धिमा समेत असन्तुलन देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा उद्योग क्षेत्रको वृद्धिदर ०.४८ प्रतिशतले ऋणात्मक रहेको छ । यसअघि तेस्रो त्रैमासमा पनि यो क्षेत्रको वृद्धिदर ०.२९ प्रतिशतले ऋणात्मक थियो ।

लगातार दुई त्रैमासमा उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक रहनुले उत्पादनमूलक गतिविधिमा अपेक्षित सुधार हुन नसकेको देखाउँछ । पहिलो र दोस्रो त्रैमासमा सकारात्मक रहेको उद्योग क्षेत्र पछिल्ला दुई त्रैमासमा संकुचनमा गएको हो ।

अघिल्लो त्रैमासको तुलनामा चौथो त्रैमासमा उद्योग क्षेत्रको अवस्था थप कमजोर देखिएको छ । यद्यपि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने उद्योग क्षेत्रको वृद्धिदर १.४ प्रतिशतले सकारात्मक छ । यसले वार्षिक तुलनामा केही सुधार भए पनि तत्कालीन औद्योगिक गतिविधिमा गति आउन नसकेको संकेत गर्छ ।

अर्थतन्त्रमा उद्योग क्षेत्रको यस्तो अवस्थाका बीच अन्य क्षेत्रको विस्तारले समग्र आर्थिक वृद्धिदरलाई सकारात्मक बनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा अर्थतन्त्र १.५४ प्रतिशतले विस्तार भएको अनुमान छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससँग तुलना गर्दा भने आर्थिक वृद्धिदर ४ प्रतिशत रहेको छ । यसरी समग्र अर्थतन्त्र विस्तार भइरहँदा उत्पादनमूलक क्षेत्र भने संकुचनमा रहनुले आर्थिक वृद्धिको आधार र प्रकृतिमाथि प्रश्न उठाएको छ ।

चौथो त्रैमासमा १८ औद्योगिक वर्गीकरणमध्ये १७ वटाको वृद्धिदर सकारात्मक देखिएको छ । तर तीमध्ये अधिकांश क्षेत्रमा भएको विस्तारले औद्योगिक उत्पादनमा सुधार ल्याउन सकेको छैन । सबैभन्दा धेरै वृद्धि आवास तथा भोजन सेवामा ६.०५ प्रतिशत रहेको छ । विद्युत् तथा ग्यास क्षेत्रमा ३.७६ प्रतिशत र खानी तथा उत्खननमा ३.२२ प्रतिशत वृद्धि भएको छ ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.०८ प्रतिशत रहेको छ । दोस्रो ठूलो हिस्सा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्र २.९० प्रतिशतले विस्तार भएको छ । यसले अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने क्षेत्रहरूमा पनि वृद्धि भए तापनि त्यसको गति उच्च नरहेको देखाउँछ । विशेषगरी कृषि र व्यापारमा भएको विस्तारले अर्थतन्त्रलाई सकारात्मक दिशामा राखे पनि उत्पादनमूलक उद्योगको संकुचनलाई पूर्ति गर्न सकेको छैन ।

वार्षिक तुलनामा भने आर्थिक गतिविधिको विस्तार केही फराकिलो देखिन्छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा विद्युत् तथा ग्याससम्बन्धी क्रियाकलाप २४.३६ प्रतिशतले बढेको छ । वित्तीय तथा बिमासम्बन्धी क्रियाकलाप ९.०७ प्रतिशत, आवास तथा भोजन सेवा ७.८४ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्र ७.६६ प्रतिशतले विस्तार भएका छन् ।

अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा रहेको कृषि क्षेत्रको वार्षिक वृद्धिदर १.३५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । कृषि तथा वन पैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ । त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्र ५.९७ प्रतिशतले विस्तार भएको अनुमान छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यस क्षेत्रको विस्तारमा योगदान पु¥याएको छ ।

वित्तीय तथा बिमा क्षेत्रको विस्तारले पनि अर्थतन्त्रको समग्र वृद्धिमा योगदान गरेको छ । निक्षेप संकलन तथा कर्जा प्रवाहमा भएको वृद्धि, निर्जीवन बिमा शुल्क संकलन र वित्तीय गतिविधिमा आएको विस्तार यस क्षेत्रको वृद्धिका आधार बनेका छन् । विद्युत् उत्पादन, प्रसारण तथा वितरणमा भएको वृद्धि पनि आर्थिक विस्तारको महत्त्वपूर्ण आधार बनेको छ । तर वित्तीय कारोबार र सेवा क्षेत्रको विस्तारसँगै वास्तविक उत्पादनमूलक क्षेत्र कमजोर रहनुले अर्थतन्त्रको संरचनात्मक अवस्थाबारे थप चासो बढाएको छ ।

अर्कोतर्फ सार्वजनिक प्रशासन तथा रक्षासम्बन्धी क्षेत्रको वृद्धिदर पनि ऋणात्मक देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यो क्षेत्र ०.१२ प्रतिशतले संकुचित भएको छ । सार्वजनिक प्रशासन, सरकारी सेवा तथा अनिवार्य सार्वजनिक सुरक्षासम्बन्धी गतिविधिमा अपेक्षित विस्तार हुन नसकेको यसले देखाउँछ । अर्थतन्त्रका अधिकांश क्षेत्रमा सकारात्मक वृद्धि हुँदा सरकारी प्रशासनसम्बन्धी गतिविधि भने खुम्चिनु अर्को चुनौतीका रूपमा देखिएको छ ।

समग्र आर्थिक वृद्धिदर सकारात्मक रहे पनि उद्योग र सार्वजनिक प्रशासनजस्ता महत्त्वपूर्ण क्षेत्रमा देखिएको संकुचनले आर्थिक विस्तारको गुणस्तरमाथि प्रश्न उठाएको छ । सेवा, वित्तीय कारोबार, विद्युत् र व्यापारको विस्तारले कुल गार्हस्थ्य उत्पादन बढाउन सहयोग गरे पनि रोजगारी सिर्जना, स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा उद्योग क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले औद्योगिक गतिविधिमा सुधार नआएसम्म समग्र अर्थतन्त्रको वृद्धिले अपेक्षित उत्पादन, रोजगारी र आत्मनिर्भरताको आधार निर्माण गर्न कठिन हुने देखिन्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000