Logo
Logo

नबिल बैङ्क सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा नवौँ पटक सम्मानित


0
Shares

काठमाडौं । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैङ्किङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैङ्कका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैङ्कको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ ।

नबिल बैङ्कले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ । राष्ट्रिय कर दिवसका अवसरमा मङ्गलवार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बैङ्कलाई सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान बैङ्कको सञ्चालक समितिको अध्यक्षता गरिरहेका निर्वाण कुमार चौधरीले बैङ्कका तर्फबाट ग्रहण गरे ।

सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए । उनले भने, “यस सम्मानले हाम्रा कर्मचारीहरूको योगदान र ग्राहकहरूले हामीप्रति देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्दछ । हामी करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ। ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्न र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउन हामी निरन्तर प्रतिबद्ध छौँ ।”

बैङ्कको यो योगदान व्यावसायिक सफलतासँगै राष्ट्रको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीको समेत प्रतिबिम्ब हो । बैङ्कले पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैङ्किङ र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको आधार मान्दै आएको छ ।

नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । चार दशकभन्दा लामो बैङ्किङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैङ्किङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ । दिगो बैङ्किङलाई प्राथमिकता दिँदै बैङ्कले डिजिटल सेवाको विस्तारका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल बैङ्कले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यमा आर्थिक अवसर विस्तार गर्न र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्धता व्यक्त गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000