
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सातै प्रदेशको अधिवेशनमा सहभागी हुने भएका छन् । मंसिर २१–२३ मा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको देउवा पक्षले ५ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्दैछ ।
अधिवेशनका क्रममा देउवा सबै प्रदेशमा पुगेर सहभागी हुने कार्यक्रम तय भएको देउवा पक्षको १५औँ महाधिवेशन सचिवालय संयोजक समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए । यसअघि नै देउवा पक्षले जिल्ला तथा निर्वाचन क्षेत्रस्तरका अधिवेशन अघि बढाइसकेको छ ।
कुईंकेलका अनुसार हालसम्म ४६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १४० निर्वाचन क्षेत्रमा पनि अधिवेशन सकिएको छ । जिल्ला र निर्वाचन क्षेत्रको अधिवेशनपछि देउवा पक्षले प्रदेश अधिवेशनलाई प्राथमिकता दिएको हो ।


















