Logo
Logo

आफ्नो देश नबुझी विश्वसामु प्रभावकारी प्रतिनिधित्व गर्न सकिँदैन : परराष्ट्रमन्त्री


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)द्वारा आज आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशाः नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनारको उद्घाटन समारोहमा उनले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्नबाट हुने बताए ।

परराष्ट्रमन्त्री खनालले भने, ‘आफू, आफ्नो समुदाय र आफ्नो देशलाई राम्ररी नबुझीकन विश्वसामु मुलुकको प्रभावकारी प्रतिनिधित्व गर्न सकिँदैन ।’ नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तरराष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

हिमाल, पहाड र तराईका समुदाय, किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षालाई बुझ्नसक्ने कूटनीतिज्ञ आवश्यक रहेको मन्त्री खनालको भनाइ छ । उनले प्रमाणमा आधारित विश्लेषण र समस्या समाधान गर्ने आलोचनात्मक सोच, सङ्कटअनुसार तत्काल अनुकूल हुनसक्ने क्षमता, विभिन्न संस्कृति र समुदायका सरोकार बुझ्ने सहानुभूति, विभिन्न क्षेत्र र संस्थाबीच सहकार्य गर्नसक्ने क्षमता तथा जीवनभर सिकिरहने स्वाध्याय कूटनीतिका लागि आवश्यक रहेको उल्लेख गरे ।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने उल्लेख गर्दै मन्त्री खनालले अङ्गे्रजी, चिनियाँ र अरबीजस्ता विश्व भाषासँगै नयाँ विषय र विधामा दक्षता हासिल गर्न युवा कूटनीतिज्ञलाई आग्रह गरे ।

भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई सरकार, अनुसन्धान र पैरवीका विभिन्न क्षेत्रमा रहेर पनि नेपालको कूटनीतिक समुदायको अभिन्न अङ्गका रूपमा सक्रिय योगदान गर्न उनले आह्वान गरे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000