Logo
Logo

रविको धैर्यतामा टिकेको बालेन सरकार


0
Shares

गत फागुन २१ को निर्वाचनको सन्निकट रास्वपाद्वारा आयोजित एक चुनावी कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले आत्मविश्वासका साथ भनेका थिए, ‘आमा बालेनले देश बनाउँछ ।’ त्यही निर्वाचनबाट रास्वपाले दुई तिहाइ बहुमत ल्याएर अहिले उनै बालेन्द्र साह प्रधानमन्त्री बन्न पुगे । तर मुलुकको कार्यकारी प्रमुखको कार्यभार सम्हालेको सात महिनाको अवधिमै प्रधानमन्त्री बालेनले आशातीत परिणाम दिन नसकेर उल्टै मनोमानीपूर्ण ढंगले अघि बढ्दा आन्तरिक एवं बाह्य रुपमै संकटमा परेका छन् ।

गत साता चितवन पुगेका रास्वपा सभापति रवि लामिछानेले सरकारका कामप्रति घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरेका थिए । उनले लोकतन्त्रमा परिणाम मात्रै मुख्य नभएर प्रक्रिया पनि आवश्यक रहेको बताएका थिए । सरकारले मनोमानीपूर्ण तवरले एकपछि अर्को कदम चाल्दै गर्दा त्यसले पार्टी पंक्तिभित्र असन्तुष्टि बढाएको पछिल्लो घटनाक्रमले संकेत गरेको छ । आइजीपी फेरबदल प्रकरण होस् वा समाचार कक्षमै पुगेर पत्रकारको गिरफ्तारी । यी दुबै घटनाले रास्वपा वृत्तमा असन्तुष्टि बढाएको पार्टीका नेताहरुको अभिव्यक्तिले संकेत गरेको छ ।

सरकारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आइजी नियुक्त गर्ने निर्णय पनि पार्टीसँगको सहमतिमा नगरिएको तथ्य सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको सहमतिमै आइजी परिवर्तन गरेको सञ्चारकर्मीसमक्ष दाबी गरिरहँदा त्यसै दिन रास्वपा प्रवक्ता जगदीश खरेलले पार्टीबाट कुनै निर्देशन र सहमति नदिइएको प्रतिदाबी गरेका थिए । यसले पनि बालेन सरकारको आइजी परिवर्तन गर्ने निर्णयमा रास्वपाको संस्थागत स्वीकृति नभएको स्पष्ट हुन्छ ।

अर्कोतिर, पार्टी सभापति रवि लामिछानेले पनि सरकारले आइजी परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । त्यसको सामाजिक सञ्जालबाट जवाफ दिँदै प्रधानमन्त्री बालेनले ‘देश जोगाउने र पार्टी जोगाउने’मा फरक हुने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘तपाईँहरुको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रो नेता लड्छन् मानवताले आश गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’

त्यसअघिको समाचार कक्षमै पुगेर पत्रकार गिरफ्तार गरिएको घटनामा पनि बालेन सरकार नराम्रोसँग बदनाम थियो । प्रहरी र प्रधानमन्त्रीको सचिवालयले एकअर्काप्रति दोष लगाउँदै त्यसको जिम्मा लिन नसक्नुले पनि सरकारको आलोचना भएको छ । प्रेस स्वतन्त्रता जस्तो गम्भीर विषयमा सरकारको मैमत्त कदमले चौतर्फी आलोचना हुने अवस्था निम्तिएपछि रास्वपाका नेताहरु रक्षात्मक बन्न पुगेका थिए ।

अझै पनि सरकारले पुरानै कार्यशैलीलाई निरन्तरता दिँदै एकपछि अर्को गरी आफ्नै ‘सनक’का भरमा अघि बढिरहँदा त्यसबाट पार्टी सभापति रवि लामिछाने थप असन्तुष्ट बनेको देखिन्छ । उनले चितवनमा घुमाउरो पारामा सरकारको दम्भ र सनकलाई चुनाती दिँदै जनताले दिएको जनमतको हुर्मत लिन त्यसको दुरुपयोग गर्न नहुने चेतावनी दिनुले पनि सरकार र पार्टीबीच दूरी बढ्दै गएको प्रष्ट हुन्छ ।

यसअघि पनि सभापति लामिछानेले मुलुकमा व्याप्त संकटको समयमा प्रधानमन्त्री बालेन गैरजिम्मेवारपूर्ण तवरले बेखबर रहँदा आफैँले सक्रियता बढाएर समाधानको प्रयत्न गरेका थिए । चाहे सुनसरीको देवानगन्जको साम्प्रदायिक दंगा होस् या भोटेकोशीको बाढी । यी दुबैमा प्रधानमन्त्री बालेन सामाजिक सञ्जालमा सीमित हुँदा रविले नै सर्वदलीय बैठक आह्वान गरेर राष्ट्रिय समस्या समाधानका लागि पहलकदमी लिएका थिए ।

अहिले पनि पार्टीभित्र प्रधानमन्त्री बालेन अझै रास्वपा बन्न नसकेको संस्थापन पक्षले आरोप लगाउँदै आएको छ । पार्टीका बैठकदेखि संसदीय दलको बैठकमा समेत अनुपस्थित हुँदै आएका प्रधानमन्त्री बालेन अन्तर्मनबाट रास्वपा बन्न नसकेको संस्थापन पक्षको ठहर छ ।

यसरी पार्टीभित्रबाटै आन्तरिक रुपमै समस्यामा पर्दै गएको बालेन सरकारले बाह्य सम्बन्ध पनि विश्वसनीय बनाउन सकेको छैन । यसअघि परम्परागत दलको सरकारलाई अमुक देशले बनाइदिएको भन्दै भ्रम फैलाँदै आएका बालेन अहिले आफ्नो पालामा भने छिमेकी भारतसँग सम्बन्ध सुधार्न लम्पसार भएका छन् ।

जेन्जी विद्रोह र त्यसयताका सरकारका क्रियाकलाप एवं घटनाक्रमले बालेन सरकारको अघोषित पक्षधरता प्रष्ट भइसकेको छ । त्यसैले पनि हाम्रा निकट दुई छिमेकीसँग विश्वासको वातावरण बन्न सकेको छैन । दक्षिणी छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधारका लागि उनले त्यताको भ्रमण लक्षित गतिविधिलाई तीव्र पारिरहेका छन् । यद्यपि, त्यस भ्रमणको सन्दर्भमा समेत सरोकालवाला निकायसँग कुनै छलफल र समन्वय गरेका छैनन् ।

भारत भ्रमणमा मुलुकको तर्फबाट राखिने एजेण्डाको विषयमा सबै दल, शीर्ष नेता, कूटनीतिक क्षेत्र लगायतसँग पर्याप्त छलफल गर्नुपर्नेमा गुपचुप रुपमा भारत भ्रमणको तयारी अघि बढाएका छन् । बरु उल्टै भारत भ्रमणको वातावरण बनाउन आफ्ना सल्लाहकार कुमार बेनलाई सुटुक्क नयाँ दिल्ली पठाउन समेत पछि परेनन् ।

गत फागुन २१ को निर्वाचनको अन्तिम तयारीकै बेला रास्वपामा समाहित भएका बालेनलाई पूर्वसहमति बमोजिम प्रधानमन्त्रीको जिम्मेवारी दिएर रवि लामिछानेले राजनीतिक उदारता प्रदर्शन गर्दै मुलुककै जिम्मा लगाएका थिए । त्यसका अलावा बालेन सरकार बनेयता रविले परम्परागत दलसँग समन्वय र सहकार्य गर्दै सरकारका लागि सहजीकरण गरेर कतिपय सन्दर्भमा प्रधानमन्त्रीको दायित्व समेत आफैंले निभाउँदै थिए ।

स्मरणीय के छ भने, प्रधानमन्त्री भएको सात महिना बित्दा पनि बालेनले अहिलेसम्म भारत भ्रमणका विषयमा संसदीय दलका नेतासँग समन्वय गर्न समेत आवश्यक ठानेका छैनन् । पुराना दलको असन्तुष्टिको जगमा आम जनतामा व्याप्त बदलाभावस्वरुप बालेनको दल रास्वपाले दुई तिहाइ बहुमत ल्याएको हो । त्यसकै उपज उनी प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका हुन् । तर राष्ट्रिय हित र सरोकारका विषयमा तिनै प्रतिपक्षलगायत अन्य दलका नेताहरुसँग छलफल गरेर समन्वयकारी ढंगले अघि बढे त्यसले सरकार सञ्चालनमा बालेनलाई अवश्य सहयोग पुग्ने थियो । तथापि, उनी ‘खोपीको देउता’ जसरी पुराना दलका शीर्ष नेताहरुलाई कुनै महत्व नदिएर दम्भ प्रदर्शन गर्दै एकलौटी ढंगले अघि बढ्न खोजेका छन् ।

भनिन्छ, एक्लो वीरले युद्ध जित्न सक्दैन । मुलुकका ज्वलन्त राष्ट्रिय समस्यामा सबैको सहकार्य र समन्वय आवश्यक हुन्छ भन्ने सामान्य चेत समेत प्रधानमन्त्रीमा देखिएको छैन । तिनै परम्परागत दल भन्दा परिणाममुखी काम गरेर जनतामा आशा देखाउनुपर्नेमा त्यस विपरीत प्रतिशोध एवं पूर्वाग्रहप्रेरित उनको संवादहीनता सरकारका लागि किमार्थ हितकर छैन ।

यसरी आफू बाहेक अरुलाई कुनै महत्व नदिएर एकलौटी ढंगले अघि बढ्ने बालेनको कार्यशैलीले पार्टीभित्र र बाहिर जनमानसमा समेत असन्तुष्टि बढ्दै गएको छ । अहिलेसम्म सरकारको कमीकमजोरीलाई ढाकछोप गरेर जोगाउन प्रयत्नशील रहेका पार्टी सभापति रवि लामिछाने पनि प्रधानमन्त्री बालेनका पछिल्ला क्रियाकलापबाट आजित बनेको उनको हालसालैको अभिव्यक्तिले स्पष्ट पारेको छ ।

अलग–अलग पृष्ठभूमिबाट बाध्यतावश एउटै पार्टीमा समाहित हुन पुगेका रवि–बालेनको एक अर्काको विपरीत कार्यशैलीले नै सरकार र पार्टीबीच दरार उत्पन्न भएको हो । रवि विगतदेखि नै पुराना दल र त्यसका नेताहरुप्रति सौहार्द सम्बन्धका साथ उदारता कायम राख्दै आएका नेता हुन् भने बालेनको स्वभाव त्यस विपरीत छ । बालेनले परम्परागत दल विरोधी पात्रको रुपमा आफूलाई उभ्याउँदै काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । उनले त्यसयता निरन्तर पुरानादलप्रति असहिष्णु अभिव्यक्ति एवं कटाक्षपूर्ण व्यवहार गर्दै आएका छन् । यसले पनि रवि बालेनको सहकार्य परिस्थितिजन्य बाध्यताको उपज मात्रै रहेको प्रष्ट पार्दछ ।

जेनजी विद्रोहअघिसम्म बालेनले रास्वपालाई अन्य पुरानै दलको रुपमा चित्रित गर्दथे । उनले नयाँ र पुरानो दल दुबैलाई चोरको संज्ञा दिँदै कसैलाई पनि देशको माया नभएको बताएका थिए । तर नियोजित रुपमा भएको जेनजी विद्रोह र त्यसबाट उत्पन्न परिस्थितिले उनलाई रास्वपामा समाहित हुन बाध्य पारेको थियो । अब रवि र बालेनबीचको आन्तरिक द्वन्द्वले मुलुकमा फेरि दुर्घटना निम्त्याउने खतरा बढेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000