
काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार निर्वाचन आयोगले राखेको छलफल कार्यक्रममा बोल्ने क्रममा शिर्ष तहका नेताहरुले स्थानीय र प्रदेश तहको निर्वाचनसँगै अगामी दिनमा हुने सबै प्रकारका निर्वाचनलाई क्रमशः प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोगले आसन्न निर्वाचनको तयारीका सम्बन्धमा दलहरुलाई ब्रिफिङ गरेको जानकारी दिए । उनले स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्न सकिने सम्भावनाको सम्बन्धमा समेत छलफल भएको बताए ।
उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन दलहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत बताए । उनकाअनुसार छलफलमा निर्वाचनमा उम्मेदवारले गर्ने खर्च घटाउन आवश्यकताका आधारमा संविधान एवं कानूनमा सुधार गर्नुपर्नेमा आयोगले जोड दिएको समेत बताए ।
उनले भने, ‘निर्वाचनको कुनैपनि क्रियाकलाप हुँदा संविधानको भावनाविपरित हुनुहुँदैन भन्ने कुरामा सबै दलहरु सहमत हुनुभएको छ । त्यसकारण संवैधानिक, आर्थिक, प्राविधिक र राजनीतिक पाटोबाट राष्ट्रिय र राजनीतिक सहमतिको आधारमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेकुरामा सबैको जोड छ । यो कुरामा दलहरुबीच सहमति हुनुको साथै आयोगलाई समेत, स्वतन्त्र निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने भन्ने कुरा भएको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्ने कि फरक फरक मितिमा गर्ने भन्ने बारेमा राजनीतिक सहमति गर्नुस् भन्ने कुरा गर्नुभएको छ । अब राजनीतिक दलका संयन्त्रहरुबीच छलफल गरेर मिति तय होला । अनि निर्वाचनमा बदर मत घटाउनको लागि प्रविधिमैत्री बनाउनुपर्नेमा समेत जोड छ ।’
उनले प्रवासमा रहेका नेपाली नागरिकलाई समेत अगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा मताधिकार दिनुपर्ने विषयमा समेत छलफल भएको बताए ।


















