Logo
Logo

ग्लोबल आइएमई र हेफर इन्टरनेशनलबीच सहुलियतपूर्ण कृषि कर्जासम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्देश्य पूरा गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा शुभनारायण महतोले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्र अनुसार ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

यो समझदारीले गुल्मी जिल्लाका महिला, सिमान्तकृत तथा पूँजी अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरुको जीवनस्तर उकास्न उल्लेख्य योगदान पु¥याउनेछ । यससँगै बैंकले बैंकिङ साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकलाई प्रोत्साहन गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले सातवटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखासहित ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले १७ भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

साथै हेफर इन्टरनेशनलले हालसम्म ४१ जिल्लामा २ दुई ५४ हजारभन्दा बढी गरिब, पिछडिएका परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासका लागि कार्यक्रम गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले आफ्नो पहुँच तथा सेवा केन्द्रको उपभोग गर्दै हेफर नेपालले पहिचान गरेका सामाजिक महिला उद्यमी सहकारी तथा सोसँग सम्बद्ध महिला उद्यमीलाई बैंकसँग जोड्दै सेवा प्रदान गर्नेछ ।

यस समझदारीसँगै दुवै संस्थाले कृषि उद्यममा संलग्न ग्रामीण भेगका किसानलाई वित्तीय पहुँच सुधार गर्नका लागि संयुक्त प्रयास गर्नेछन् र त्यस्ता किसानको व्यवसाय बिस्तार गर्न सक्षम बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्