Logo
Logo

हप्तामा एक दिन अयोध्याबाट रेल, हवाई रुटमा कहाँ छ विवाद ?


0
Shares

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन शाह आज पहिलो पटक भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी दिउँसो ३ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ । दिल्ली पुगेलगत्तै उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन् ।

भोलि सोमबार राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । भोलि नै उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच द्विपक्षीय भेटवार्ता हुनेछ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीले भगवान् रामको जन्मस्थल अयोध्या र नेपालस्थित माता सीताको जन्मस्थल जनकपुरधामबीच सञ्चालन हुने नयाँ रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।

हप्तामा एक दिन चल्ने रेल, ६०४ किलोमिटर यात्रा

अयोध्यादेखि जनकपुरधामसम्म चल्ने यो रेलले ६०४ किलोमिटरको दूरी तय गर्नेछ । रेलका प्रमुख बिसौनी (स्टपेज) हरूमा अयोध्या धाम, गोरखपुर, बस्ती, नरकटियागञ्ज, रक्सौल, सीतामढी, मधुबनी र जयनगर छन् ।

यो रेल हप्तामा एक दिन मात्र सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल प्रस्थान गर्नेछ । यसबाट भारतस्थित भगवान् रामको जन्मभूमि र नेपालस्थित माता सीताको जन्मभूमिबीच सिधा रेल सम्पर्क स्थापित हुनेछ ।

अब दुवै देशका श्रद्धालुहरू रामायणसँग जोडिएका यी दुई प्रमुख तीर्थस्थलसम्म रेलमार्फत सहजै पुग्न सक्नेछन् । साथै बिहार र नेपालका सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई अध्ययन, व्यापार तथा पारिवारिक भेटघाटका लागि आवतजावत गर्न एक नयाँ विकल्प प्राप्त हुनेछ ।

नेपाललाई नयाँ हवाई मार्गको आवश्यकता किन ?

नेपालले अन्य देशहरूबाट सिधा उडान बढाउनका लागि दुई ठुला अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको छ, जसमध्ये भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२२ को मे र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीमा सञ्चालनमा आएका थिए ।

यी विमानस्थलमा विदेशबाट सीधा विमान आउने, काठमाडौँस्थित विमानस्थलको चाप कम हुने र भैरहवा–पोखरामा पर्यटन प्रवद्र्धन हुने नेपालको अपेक्षा थियो । तर, विमानस्थल निर्माण भए पनि यहाँ अन्तर्राष्ट्रिय उडान अपेक्षाकृत रूपमा बढ्न सकेका छैनन्, यसको एउटा प्रमुख कारण सिधा हवाई मार्गको अभाव हो ।

पोखरा र भैरहवा नेपालको पश्चिमी क्षेत्रमा पर्ने भएकाले पश्चिमी मुलुक र खाडी क्षेत्रबाट आउने विमानहरू पश्चिम दिशाबाटै उडान भरेर सीधै नेपाल प्रवेश गरून् भन्ने नेपालको चाहना छ । यसो गर्दा विमानहरूले लामो घुमाउरो बाटो तय गर्नुपर्ने छैन ।

तर, यसमा एउटा समस्या छ । पश्चिम दिशाबाट नेपाल प्रवेश गर्न विमानहरूले भारतीय हवाई क्षेत्र पार गर्नुपर्ने हुन्छ । अर्थात्, भारतीय आकाश हुँदै उडान भर्नुपर्छ, जसका लागि भारतको अनुमति आवश्यक पर्दछ ।

विवाद कहाँ छ ?

नेपालले भारतसँग महेन्द्रनगरको बाटो हुँदै पश्चिम दिशाबाट आउने विमानहरूलाई प्रवेश अनुमति मागिरहेको छ । यस मार्गलाई ‘महेन्द्रनगर एल ६२६’ हवाई मार्ग भनिन्छ ।

हाल यस मार्गबाट नेपालदेखि भारततर्फ विमानहरू जान सक्छन्, तर भारततर्फबाट यही मार्ग हुँदै सीधै नेपाल आउने पूर्ण अनुमति छैन । अर्थात्, एउटै हवाई मार्गबाट विमान नेपालबाट भारत जान त पाउँछन्, तर भारतबाट नेपाल आउनका लागि अर्कै मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।
नेपालले भारतसँग यो मार्गलाई दुईतर्फी रूपमा खुला गर्न आग्रह गरिरहेको छ । यसो भएमा पश्चिमी देश र खाडी मुलुकबाट आउने विमानहरू सीधै नेपालको पश्चिमी भागमा पुग्न सक्नेछन् ।

नेपाललाई के नोक्सानी भइरहेको छ ?

यसलाई यसरी बुझ्न सकिन्छ— मानौँ दुबईबाट कुनै विमान पोखरा आउन चाहन्छ । यदि उसलाई महेन्द्रनगर हुँदै प्रवेश गर्ने अनुमति मिल्यो भने पश्चिम दिशाबाट सिधै पोखरा पुग्न सक्छ ।

तर, हाल नेपाल प्रवेश गर्न विमान पूर्वतर्फको सिमरा हवाई मार्गसम्म पुग्नुपर्छ र त्यहाँबाट पुनः पश्चिमतर्फ फर्किएर पोखरा वा भैरहवा आउनुपर्ने हुन्छ । यसले गर्दा विमानले अतिरिक्त दूरी तय गर्नुपर्दछ ।

यसबाट नेपाललाई चार मुख्य नोक्सानी भइरहेका छन् :
– विमानले लामो बाटो तय गर्नुपर्दा इन्धनको खर्च बढ्छ ।
– यात्रुहरूलाई गन्तव्यमा पुग्न थप समय लाग्छ ।
– वायुसेवा कम्पनीहरूका लागि लामो र महँगो मार्ग भएकाले भैरहवा र पोखराका लागि उडान सुरु गर्न कम आकर्षक बन्ने गरेको छ ।
– सीधा र सहज हवाई सम्पर्कको अभावले यी सहरहरूमा विदेशी पर्यटकको सङ्ख्या बढाउन कठिनाइ भइरहेको छ ।

भारतले नयाँ हवाई मार्ग दिन किन सतर्कता अपनाइरहेको छ ?

भारतका लागि यो केवल नेपाललाई हवाई मार्ग दिने विषय मात्र नभई राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय हो । नेपालले प्रस्ताव गरेका केही हवाई मार्गहरू भारतको उत्तर प्रदेशस्थित गोरखपुर नजिकैबाट भएर जान्छन् । त्यहाँ भारतीय वायुसेनाको महत्त्वपूर्ण अड्डा छ, जहाँ लडाकु विमानहरूको सञ्चालन र अभ्यास हुने गर्दछन् ।

भारतले यसअघि पनि गोरखपुरमा सैन्य अड्डा रहेको उल्लेख गर्दै भैरहवा र नेपालगञ्जमाथिबाट नयाँ हवाई मार्ग खोल्न आपत्ति जनाएको थियो । भारतको चिन्ता सुरक्षा र हवाई यातायात व्यवस्थापनसँग जोडिएको छ ।

नेपालको प्रश्न के छ भने जब ‘एल ६२६’ मार्गबाट विमान नेपालबाट भारत जान सक्छन् भने भारतबाट नेपाल आउने विमानहरूलाई पनि सोही मार्गबाट सामान्य उचाइमा उडान भर्न किन अनुमति दिइँदैन ?

भारतले सन् २०२३ मा यस मार्गबाट नेपाल आउने उडानहरूलाई अनुमति दिन सहमति जनाएको थियो, तर विमानहरू १५ हजारदेखि २४ हजार फिटको उचाइमा मात्र उड्न पाउने सर्त राखेको थियो । यति कम उचाइ ठुला जेट विमानहरूका लागि व्यावहारिक नहुने भन्दै नेपालले आपत्ति जनाउँदै आएको छ ।

यस पटकको भारत भ्रमणमा नेपालका पर्यटन मन्त्री सहभागी छैनन् । त्यसैले विज्ञहरूका अनुसार यस भ्रमणका क्रममा हवाई क्षेत्रको विषयमा छलफल हुने सम्भावना न्यून छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000