Logo
Logo
बेन्जामिन नेतान्याहु

इजरायलमा नयाँ सरकार गठनका लागि नतान्याहुको पार्टीलाई वार्ताको निम्तो


0
Shares

इजरायलमा नयाँ सरकार गठन गर्ने विषयमा याशार पार्टीका प्रमुख गादी आइजनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पार्टी लिकुडलाई आमन्त्रण गरेका छन्।

प्राप्त विवरण अनुसार, दुवै पार्टीबीच आइतबार गठबन्धन सरकार गठनका सन्दर्भमा वार्ता हुनेछ। नयाँ सरकार बनेको अवस्थामा प्रधानमन्त्री पद आफूले नै सम्हाल्ने आइजनकोटले स्पष्ट पारेका छन्।

यसको एक साताअघि नेतान्याहूले आइजनकोटलाई मिलेर सरकार बनाउन अपिल गरेका थिए। यद्यपि, नेतान्याहूले चुनाव हारिसकेको र आफू उनको चालमा नफस्ने बताउँदै आइजनकोटले त्यतिबेला उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

नेतान्याहू र आइजनकोट दुवैसँग छैन बहुमत

अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा नेतान्याहूको पार्टीले बहुमत गुमाएको थियो। कुल १२० सिट रहेको इजरायली संसद्‌मा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्दछ। निर्वाचनमा नेतान्याहूको गठबन्धनले ५३ र आइजनकोटको गठबन्धनले ४८ सिट प्राप्त गरेका थिए।

१९ सिट रहेका अरब पार्टीहरूले आइजनकोटलाई समर्थन दिएपछि राष्ट्रपति इसाक हर्जोगले आइजनकोटलाई सरकार गठनको पहिलो अवसर प्रदान गरेका हुन्।

अरब पार्टीको समर्थन लिन आइजनकोटको हिचकिचाहट

अरब पार्टीहरू आइजनकोटलाई समर्थन दिन तयार रहे तापनि आइजनकोटलाई सघाउने अन्य कैयौँ नेताहरू ती पार्टीहरूसँग मिलेर सरकार बनाउने पक्षमा छैनन्। अरब पार्टीको समर्थन नलिनुका पछाडि मुख्य तीन कारणहरू रहेका छन्:

सरकारमा सहभागी हुने दलहरूले हमासलाई आतङ्ककारी सङ्गठन मान्नुपर्ने र त्यसलाई समाप्त पार्न समर्थन गर्नुपर्ने आइजनकोटको सर्त छ। आइजनकोटका अनुसार अरब पार्टीहरूले उनका यी सर्तहरू पूरा गरेका छैनन्।

सरकारमा सामेल हुने दलहरूले इजरायललाई यहुदी र लोकतान्त्रिक देशका रूपमा स्वीकार गर्नुपर्ने आइजनकोटको अडान छ, तर अरब पार्टीहरूसँग यस विषयमा मतभेद रहेको छ।

आइजनकोटको चार दलीय गठबन्धनमध्ये तीन दल— याशार, बियाहद र इजरायल बेतेनुले निर्वाचनका क्रममा अरब पार्टीहरूसँग मिलेर सरकार नबनाउने प्रतिबद्धता जनाएका थिए।

सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय

राष्ट्रपति इसाक हर्जोगले नोभेम्बर ८ मा आइजनकोटलाई सरकार गठनको जिम्मेवारी सुम्पेका थिए। उनलाई यसका लागि २८ दिनको समय दिइएको छ, जसअनुसार उनीसँग डिसेम्बर ६ सम्मको समयसीमा छ। आवश्यकता परेमा १४ दिनको अतिरिक्त समय पनि मिल्न सक्नेछ।

यसअघि गत आइतबार पनि नेतान्याहू र आइजनकोटका पार्टीहरूबीच वार्ता भएको थियो, तर कुनै सहमति जुट्न सकेको थिएन। त्यसपछि दुवै पक्षले एकअर्कालाई एकताको सरकार बनाउन गम्भीर नभएको आरोप लगाएका थिए।

नेतान्याहूसँग सरकार बनाउन चाहँदैनन् पूर्वप्रधानमन्त्री बेनेट

इजरायलका पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले आगामी सरकार गठनका लागि गादी आइजनकोटलाई समर्थन दिएका छन्। तर, आफ्नो पार्टी ‘बियाहद’ बेन्जामिन नेतान्याहूको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने उनले स्पष्ट पारेका छन्।

बेनेटको पार्टी बियाहदले निर्वाचनमा १२ सिट प्राप्त गरेको छ। उक्त पार्टीले यायर लापिडको ‘येश अतिद’ पार्टीसँगको गठबन्धनमा चुनाव लडेको थियो।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000