
काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा स्नातकोत्तर तह (पीजी) अन्तर्गत प्रथम वर्षमा अध्ययनरत आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । कलेजको कार्य तथा अभ्याससम्बन्धी विभिन्न समस्याको समाधान नभएको भन्दै उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका हुन् ।
आवासीय चिकित्सकहरूले गत साउन ३१ गतेदेखि शान्तिपूर्ण पेनडाउन आन्दोलन गर्दै आएका थिए । आन्दोलनका क्रममा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन कार्यालय र कलेज प्रशासनसँग पटक–पटक छलफल भएको उनीहरूले जनाएका छन् ।
आफूहरूले उठाएका प्रत्येक आरोपसँग सम्बन्धित प्रमाणसमेत प्रस्तुत गरे पनि सरोकारवाला निकायले समस्या समाधान गर्न नसकेको चिकित्सकहरूको भनाइ छ । पटक–पटकको छलफलबाट पनि समाधान ननिस्किएपछि आफूहरू गम्भीर संकटमा परेको उनीहरूले बताएका छन् ।
सुरक्षित, सम्मानजनक र निष्पक्ष वातावरणमा तालिमलाई निरन्तरता दिन सम्भव नभएको निष्कर्षसहित अन्य विकल्प नरहेपछि सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।
राजीनामाबारे उनीहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै जानकारी गराएका छन् । साथै, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आईओएम डीन कार्यालय र नेशनल मेडिकल कलेजलाई बोधार्थ दिएका छन् ।



















