Logo
Logo

प्रहरीको पोशाकमा बदमासीः डिएसपीलाई उन्मुक्ति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ पुस ।

गुणस्तर परीक्षणको रिपोर्ट कीर्ते गरेर नेपाल प्रहरीलाई नै ठगी गर्न खोज्ने एक ठेकदार दुई सातादेखि प्रहरी हिरासतमा छन् । लामो समयदेखि सुरक्षा निकायका ठेक्कापट्टा गर्दै आएका ठेकदार पिताम्बर मुन्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यस्तो ठगीमा उनलाई साथ दिने प्रहरीलाई भने जोगाउने खेल भइरहेको छ ।

मुन्काको कम्पनी क्राउन टेक्सटाइल इन्ड्रस्टिजकाले आर्थिक वर्ष २०७३/७४ मा नेपाल प्रहरीको २० हजार मिटर उलन पाइन्टको कपडा आपुर्तीको ठेक्का पाएको थियो । उनले २०७४ मा प्रहरीलाई कपडा आपुर्ती गरे । गुणस्तर परीक्षणको क्रममा कपडा सम्झौताअनुसार गुणस्तरीय नभएपछि प्रहरीले नलिने निर्णय गरेको थियो ।

त्यसरी परीक्षण गर्दा आफुलाई रोहवरमा नराखी नमुना लिइएको भन्दै उनले प्रहरीविरुद्ध अदालतमा रिट दायर गरे । अदालतले उनलाई समेत रोहवरमा राखेर नुमना लिई पुनः परीक्षण गर्न आदेश दियो । सोही अनुसार पुनः परीक्षण गरियो । भारतको चेन्नईस्थित एसजिएच कम्पनीमा पुनपरीक्षण गर्दा सो कपडाको गुणस्तर सम्झौताभन्दा कमजोर देखिएको थियो । मुन्काले सोही कम्पनीमा राम्रो कपडाको नमुना पठाई त्यसको रिपोर्ट प्रहरीलाई इमेलमार्फत पठाउन लगाएर प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए ।

त्यसमा प्रहरीको भण्डार शाखाका डिएसपी मदन केसीले उनलाई सघाएका थिए । केसीको नाम, फोन नम्बर र इमेल प्रयोग गरी अर्काे नमुना परीक्षणका लागि चेन्नई पठाइएको थियो । त्यसको रिपोर्ट डिएसपी केसीको इमेलमा समेत पठाइएको थियो ।
केसीलाई हाल भण्डार शाखाबाट हटाइएको छ तर कारबाही भएको छैन । सर्वेन्द्र खनालको कार्यकालमा उनले कसमल सामान खरिदमा मिलेमतो गरी लाखौं कमाएको स्रोत बताउँछ ।

प्रहरी प्रधान कार्यालयले तत्कालिन एसएसपी उमेश रञ्जितकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिको सिफारिसका आधारमा ठेकदार मुन्का र उनका कर्मचारी नरेन्द्रनाथ पौडेललाई समेत प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाइएको छ । यसमा मुछिएका अन्य व्यापारी र प्रहरीलाई भने सिआईबीले जोगाउने प्रयास गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्