
नेपाल–भारत सम्बन्धलाई हामीले अहिलेसम्म वस्तुगत हिसाबले बुझ्न सकेका छैनौँ । सन् १८१६ मा सुगौली सन्धि भएयता समय बदलियो, सत्ता र नेताहरु बदलिए, राजनीतिक प्रणाली बदलिए तर नेपाल–भारत सम्बन्धलाई हेर्ने हाम्रो दृष्टिकोणमा खासै परिवर्तन आएन । हामी अझै पनि पुरानै मनोविज्ञान, आशंका र राष्ट्रवादको भाष्यबाट यो सम्बन्धलाई व्याख्या गरिरहेका छौँ । अब त्यसबाट बाहिर निस्केर दुई देशबीचको सम्बन्धलाई नया“ ढंगले बुझ्न र व्यवस्थापन गर्न आवश्यक छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने भारत भ्रमणबाट फर्केका छन् । उनको यो भ्रमणलाई पनि हामीले यही सन्दर्भमा हेर्नुपर्छ । जेनजी विद्रोहपछि फेरिएको राजनीतिक याममा नेपालमा नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा आएको छ । उसले आफ्नो दस्तावेजमा विकासवादी कूटनीतिको कुरा गरेको छ । उसले विदेश मामिलामा पुराना राजनीतिको बोझ बोक्दैनौँ पनि भनेको छ । तर, उसले व्यावहारमा कस्तो कूटनीति अपनाउँछ भन्ने कुरा अबको मूल प्रश्न हो ।
नेपाल–भारत सम्बन्धको आधारभूत पक्षलाई हेरौँ । सुगौली सन्धिपछि कायम भएको भौगोलिक सीमाको मूल स्वरूप अहिलेसम्म उस्तै छ । कालापानी, लिम्पियाधुरा र सुस्तालगायत केही क्षेत्रमा विवाद छन् । तर, ती सबैलाई भारतीय विस्तारवादको संज्ञा दिएर व्याख्या गर्नु वस्तुगत हुँदैन । कतिपय भूभाग लामो समयदेखि भारतको उपभोगमा छन्, जहा“ नेपालको दाबी छ । लिम्पियाधुरा र लिपुलेकको विषयमा भारत र चीन जोड्ने सडक निर्माण भएपछि नेपालमा थप गम्भीर बहस सुरु भएको हो । यी विषयलाई इतिहास, सन्धि, नक्सा र प्रमाणका आधारमा समाधान खोज्नुपर्छ ।
कालापानीको सन्दर्भमा तत्कालीन राजा महेन्द्रले भारतको सुरक्षा चासोलाई ध्यानमा राखेर त्यहाँ भारतीय उपस्थितिलाई सहज बनाएको पक्ष पनि बुझ्नुपर्छ । अहिले हामीले उठाएका सीमा दाबी र विगतमा राज्यले गरेका निर्णयबीचको सम्बन्ध के हो भन्ने प्रश्नबाट भागेर हुँदैन । सीमा विवादलाई राजनीतिक उत्तेजनाको विषय बनाउनुको सट्टा कूटनीतिक संवाद र वार्ताबाट समाधान खोज्नु बुद्धिमानी हुन्छ ।
हाम्रो सीमाको अर्को समस्या व्यवस्थापनको हो । कतिपय ठाउँमा दशगजा नै स्पष्ट छैन । सीमाका वारिपारि घर र बस्ती छन् । कतै उताको घर यता परेको छ, कतै यताको घर उता परेको छ । सुस्तामा पनि विवाद छ । खुला सीमाका कारण विभिन्न समस्या उत्पन्न हुन्छन् । यस्तो अवस्थामा सीमालाई व्यवस्थित बनाउनुपर्छ । विवाद परेमा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय गरेर समाधान खोज्ने व्यवस्था छ । त्यसलाई प्रभावकारी बनाउनुपर्छ । सीमा विवादमा होहल्ला गर्ने होइन, वार्ताको टेबलमा बसेर समाधान खोज्नुपर्छ । कूटनीतिमा ‘गिभ एन्ड टेक’ हुन्छ । आफ्नो दाबी प्रमाणका आधारमा राख्न सक्नुपर्छ ।
नेपालको अर्को ठूलो समस्या प्रदर्शनमुखी परराष्ट्र नीति हो । हामी विदेश नीतिलाई पनि राजनीतिक नाराबाजीको विषय बनाउँछौँ । सरकारको नेतृत्वमा पुग्ने नेताहरूसँग दीर्घकालीन विदेश नीतिको स्पष्ट दृष्टिकोण देखिँदैन । बुद्धिजीवी र सञ्चारमाध्यमसमेत वस्तुगत विश्लेषणभन्दा भावनात्मक प्रतिक्रियामा बढी केन्द्रित छन् । कुनै विषयमा गहिराइमा पुगेर अध्ययन गर्नेभन्दा तत्काल उत्तेजित हुने प्रवृत्ति छ ।
नेपालमा भारतविरोधी राष्ट्रवादको मनोविज्ञान लामो समयदेखि छ । कम्युनिस्टहरूले पनि राष्ट्रवादलाई आफ्नो राजनीतिक आधार बनाउँदै आएका छन् । चीन, भियतनामलगायतका देशमा समेत कम्युनिस्टहरूले राष्ट्रवादको नारा अघि सारेका छन् । शासकहरूलाई आन्तरिक समस्या पर्दा बाह्य शक्तिलाई दोष दिने प्रवृत्ति पुरानै हो । चाणक्यदेखि म्याकियाभेलीसम्मको राजनीतिक चिन्तनमा पनि यस्तो प्रवृत्ति देखिन्छ । तर आन्तरिक कमजोरी लुकाउन विदेशी शक्तिलाई दोष दिएर मुलुकको समस्या समाधान हुँदैन ।
नेपालमा महेन्द्रले राष्ट्रवादको नारा अघि सारे । दरबारभित्र भारतको प्रभाव र हस्तक्षेपको विषय उठाइयो । बीपी कोइरालाले पनि आफ्नो ढंगले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्ष लिए । पछिल्लो समय केपी शर्मा ओलीले राष्ट्रवादलाई राजनीतिक शक्तिका रूपमा प्रयोग गरे । यसरी विभिन्न कालखण्डमा राष्ट्रवादका फरक भाष्य निर्माण भए । तर राष्ट्रवाद भनेको भारतविरोधी नारा लगाउनुमात्र होइन । आफ्नो देशको आर्थिक क्षमता बढाउनु, उत्पादन विस्तार गर्नु र जनताको जीवनस्तर उकास्नु वास्तविक राष्ट्रिय शक्ति निर्माणका आधार हुन् ।
हामी लोकतन्त्रको ठूलो कुरा गर्छौं । तर मधेशका दलित र विपन्न समुदायले लोकतन्त्रको अनुभूति गर्न पाएका छन् कि छैनन् ? जनताको ठूलो हिस्सालाई गरिबीबाट माथि उठाउन नसकेर कस्तो लोकतन्त्र र कस्तो राष्ट्रवादको कुरा गर्ने ? समाजका पछाडि पारिएका समुदायको उत्थान नगरी मुलुक समृद्ध हुन सक्दैन । जनता बलिया भएमात्रै राष्ट्र बलियो हुन्छ । त्यसैले विकास र जनताको जीवनस्तर सुधारलाई राष्ट्रवादको केन्द्रमा राख्नुपर्छ ।
नेपालको भारतसँगको आर्थिक परनिर्भरता अझै बढिरहेको छ । हामीसँग आफ्नै उत्पादन पर्याप्त छैन । कृषिमा मल, बीउ र अन्य आवश्यक सामग्रीको अभाव बेलाबेला दोहोरिन्छ । बजारको माग आफ्नै उत्पादनले धान्न सकेका छैनौँ । भारतसँगको निर्भरता घटाउने हो भने पहिले आफ्नो उत्पादन बढाउनुपर्छ । कृषिलाई उत्पादनमुखी बनाउनुपर्छ । मल कारखाना स्थापना गर्ने, बीउ र मलको आपूर्ति सहज बनाउने तथा उद्योग र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।
अर्को समस्या मनोवैज्ञानिक पनि हो । भारत ठूलो मुलुक हो, हामी सानो मुलुक हौँ भन्ने लघुताभासबाट हामी ग्रसित छौँ । भारतसँग सबै कुरा जोडिएको छ । दुई देशका सेना, जनता, व्यापार, शिक्षा र सामाजिक सम्बन्धबीच गहिरो अन्तरसम्बन्ध छ । नेपाली विद्यार्थी भारतमा पढ्न जान्छन्, भारतीय विद्यार्थी नेपाल आउँछन् । दुवै देशका नागरिकले एकअर्काको देशमा उपचार र रोजगारीका अवसर खोज्छन् । यस्तो सम्बन्धको वास्तविकता नबुझी भारतविरोधी मनोविज्ञान फैलाउनुको अर्थ छैन । सीमामा सय रुपैयाँको सामान ल्याउने नागरिकलाई समेत अनावश्यक भन्सारको झन्झटमा पारेर के उपलब्धि हासिल हुन्छ ? त्यस्तो व्यवहारले नागरिकलाई सुविधा दिनुको सट्टा समस्या थप्छ ।
ठूलो र सानो राष्ट्रबीच सम्बन्धमा शक्ति असन्तुलन हुन्छ । ठूला राष्ट्रले आफ्ना सुरक्षा चासोलाई महत्व दिन्छन् । अन्तर्राष्ट्रिय राजनीतिमा यो स्वाभाविक पनि हो । त्यसैले छिमेकी मुलुकको सुरक्षा चासो र रणनीतिक स्वार्थलाई बुझ्नुपर्छ । तर त्यसको अर्थ आफ्नो राष्ट्रिय हितमा सम्झौता गर्नु होइन । आफ्नो आर्थिक र राजनीतिक क्षमता बलियो बनाएर आत्मविश्वासका साथ वार्ता गर्न सक्नुपर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विकासवादी कूटनीतिको कुरा गरेको छ । त्यो विचारलाई व्यवहारमा उतार्न सक्नुपर्छ । प्रधानमन्त्री बालेन विगतमा भारतप्रति व्यक्त गरेका कतिपय अभिव्यक्ति र व्यवहारका कारण परिपक्व कूटनीतिक बाटोमा देखिएका थिएनन् । भारतीय सचिवसँग भेट्न अस्वीकार गर्ने सुरुवाती व्यवहारदेखि अहिले संवाद र भेटघाटको बाटोमा फर्किनुले उनी व्यावहारिक बन्न खोजेको संकेत गर्छ । अब उनले व्यक्तिगत राजनीतिक छविभन्दा माथि उठेर प्रधानमन्त्रीको जिम्मेवारीअनुसार काम गर्नुपर्छ । रास्वपाले अघि सारेको विकासवादी कूटनीतिको बाटो समात्नुपर्छ ।
भारत भ्रमणमा कृषि, मल कारखाना, रेलवे, गुणस्तरीय शिक्षा र पूर्वाधार विकासजस्ता विषयलाई प्राथमिकता दिनुपर्छ । तर, यस्ता विषयमा छिमेकसँग संवाद गर्न जाँदा पर्याप्त गृहकार्य आवश्यक छ । जो प्रधानमन्त्री बालेनले यो भ्रमण दौरान गरेनन् । प्रधानमन्त्रीले अन्य राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेको भए त्यसले राष्ट्रिय सहमति र आत्मविश्वासको सन्देश दिन्थ्यो । यस्तो परामर्शबाट नयाँ मुद्दा नै जन्मिन्छ भन्ने होइन । विदेश नीतिका महत्त्वपूर्ण विषयमा राष्ट्रिय नेतृत्वबीच समझदारी कायम गर्नुको आफ्नै प्रतीकात्मक र राजनीतिक महत्त्व हुन्छ ।
भ्रमणका क्रममा दृष्टिपत्र वा विकाससम्बन्धी दस्तावेज ल्याउनु राम्रो कुरा हो । तर, दस्तावेज बनाउनुमात्र उपलब्धि होइन । महाकाली सन्धि भएको लामो समय बितिसक्दा पनि त्यसको अपेक्षित कार्यान्वयन हुनसकेको छैन । विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा गरेका प्रतिबद्धतामध्ये कतिपय अझै कार्यान्वयन भएका छैनन् । त्यसैले नयाँ सहमति र समझदारीको वास्तविक मूल्यांकन तिनको कार्यान्वयनबाट हुनुपर्छ । यसका लागि सरकारको संस्थागत क्षमता, राजनीतिक स्थिरता र राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक एकता पनि आवश्यक छ ।
नेपाल–भारत सम्बन्ध जटिल छ । यसको व्यवस्थापन गर्न उत्तेजना होइन, धैर्य, बुद्धि, साहस र आत्मविश्वास चाहिन्छ । भारत र चीन दुवैसँगको सम्बन्धमा उनीहरूको सुरक्षा चासोलाई बुझ्दै नेपालको राष्ट्रिय हित सुरक्षित गर्न सक्नुपर्छ । विदेश नीति राजनीतिक नाराबाजीको विषय बन्नु हुँदैन । आफ्नो राष्ट्रिय हित सुरक्षित गर्ने, आर्थिक परनिर्भरता घटाउने, उत्पादन बढाउने र जनताको जीवनस्तर उकास्ने विकासवादी कूटनीतिलाई केन्द्रमा राखेर नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ । भ्रमण सकेर आएका प्रधानमन्त्री बालेनको कूटनीति यी दृष्टिकोण प्रेरित हुन्छन्, हुँदैनन्, त्यो आगामी दिनमा अझ बढी प्रस्ट हुने छ ।


















