
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाको स्वदेश फर्किने घोषणासँगै मुलुकको राजनीतिक तनाव थप बढेको छ । हसीनाको पार्टी अवामी लिगले नोभेम्बर २७ र २८ तारिखमा देशव्यापी दुईदिने बन्द आह्वान गरेको छ । पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन र राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्नेलगायत आठबुँदे माग अघि सार्दै अवामी लिगले बन्द घोषणा गरेको हो ।
हसीनाको सम्भावित स्वदेश फिर्ती र पछिल्लो समय बढ्दै गएको हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बंगलादेश सरकारका अनुसार नोभेम्बर महिनामा मात्रै देशभर आगजनीका करिब एक सय घटना भएका छन् ।
सीमामा बीजीबीका १०८ टुकडी परिचालन
शेख हसीनाको स्वदेश फिर्तीको चर्चासँगै तारिक रहमान नेतृत्वको सरकारले सीमावर्ती सात जिल्लामा बोर्डर गार्ड बंगलादेश (बीजीबी) का १०८ टुकडी परिचालन गरेको छ । सुरक्षा निगरानीका लागि ड्रोन, बडी क्यामेरा तथा अन्य आधुनिक उपकरण प्रयोग गरिएको छ ।
प्रहरीले पनि सीमावर्ती क्षेत्रमा गस्ती बढाउनुका साथै विभिन्न स्थानमा जाँच चौकी स्थापना गरेको छ । शंकास्पद सवारीसाधनको खानतलासी भइरहेको छ । त्यस्तै, सीमासँग जोडिएका ३० जिल्लाका प्रशासनलाई संवेदनशील नाकाहरूमा निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।
१५ दिनमै ग्रामीण बैंकका करिब एक सय शाखामा आक्रमण
यसैबीच, बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले स्थापना गरेको ग्रामीण बैंकका शाखाहरू पनि आक्रमणको निशानामा परेका छन् । बैंकको नोभेम्बर २४ मा तयार गरिएको आन्तरिक प्रतिवेदनअनुसार नोभेम्बर १० देखि हालसम्म देशभरका करिब एक सय शाखामा आक्रमण भएका छन् ।
बंगलादेशका गृहमन्त्री सलाहुद्दिन अहमदले अवामी लिगलाई अब कुनै पनि अवस्थामा राजनीतिक गतिविधि गर्न नदिइने बताएका छन् । उनले पार्टीमाथिको प्रतिबन्ध स्थायी बनाइने दाबी गरेका छन् । यस विषयमा नयाँदिल्लीसँग पनि निरन्तर छलफल भइरहेको उनको भनाइ छ ।
पत्रकारमाथि धरपकड र आक्रमण भएको अवामी लिगको आरोप
शेख हसीनाले सत्ता छाडेपछि बंगलादेशमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाइएको आरोपसमेत लाग्दै आएको छ । अवामी लिगले पत्रकारहरूलाई पक्राउ गर्ने, आक्रमण गर्ने तथा सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउने काम भइरहेको आरोप लगाएको छ ।
उपलब्ध प्रतिवेदनअनुसार सन् २०२४ अगस्टदेखि सन् २०२६ अक्टोबरसम्मको अवधिमा पत्रकारहरूले गिरफ्तारी, हिंसा, मुद्दा तथा आर्थिक अवरोधको सामना गरेका छन् ।
उक्त अवधिमा ८४ जना पत्रकार पक्राउ परेका, तीमध्ये १९ जनाको हत्या भएको वा शंकास्पद अवस्थामा मृत्यु भएको दाबी गरिएको छ । त्यस्तै, ११८ जना पत्रकारमाथि आक्रमण भएको र ४४६ जनालाई हत्यासम्बन्धी आरोपमा अभियुक्त बनाइएको उल्लेख छ ।
प्रतिवेदनमा एक हजार २०० भन्दा बढी पत्रकारलाई रोजगारीबाट हटाइएको, ५० भन्दा बढी पत्रकार बिना धरौटी जेलमा रहेको तथा दुई सयभन्दा बढी वेबसाइट बन्द गरिएको दाबी गरिएको छ । त्यस्तै, १९ वटा सञ्चार संस्थामाथि आक्रमण भएको आरोपसमेत लगाइएको छ ।
डिसेम्बर १६ मा स्वदेश फर्किन चाहन्छिन् शेख हसीना
यसैबीच, पूर्वप्रधानमन्त्री शेख हसीनाले पहिलोपटक आफ्नो स्वदेश फिर्तीको मिति सार्वजनिक गरेकी छन् । उनी आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किन चाहन्छिन् । त्यसका लागि उनले तारिक रहमान नेतृत्वको सरकारसँग विमान उपलब्ध गराइदिन आग्रह गरेकी छन् ।
समाचार संस्था रोयटर्सका अनुसार हसीनाका प्रवक्ता सैयद मोजम्मेल अलीले मंगलबार यस्तो जानकारी दिएका हुन् । उनका अनुसार हसीना भारतको राजधानी नयाँदिल्लीबाट बिमान बंगलादेशको सरकारी विमानमार्फत ढाका फर्किन चाहन्छिन् ।
डिसेम्बर १६ बंगलादेशको विजय दिवससमेत हो । सन् १९७१ को डिसेम्बर १६ मा बंगलादेशले पाकिस्तानविरुद्धको मुक्ति संग्राममा विजय हासिल गरेको थियो । सोही दिन पाकिस्तानी सेनाले भारतीय सेना र बंगलादेशको स्वतन्त्रताका लागि लडेको मुक्ति वाहिनीसमक्ष आत्मसमर्पण गरेको थियो ।
हसीनाले विजय दिवसकै दिन स्वदेश फर्किने इच्छा व्यक्त गरेसँगै बंगलादेशको राजनीतिक घटनाक्रम थप चासोको विषय बनेको छ ।


















