Logo
Logo

गगनको जाभा यात्राः विदेशको सीप, स्वदेशमै ब्रान्ड


सिर्जना दुवाल

0
Shares

कफी कसैका लागि दिनको सुरुवात, कसैका लागि थकान बिर्साउने बहाना, कसैका लागि साथीभाइसँग भेट्ने अवसर त कसैका लागि एकान्तमा आफ्नै समय बिताउने माध्यम । सहरका गल्लीदेखि ठूला मल, कार्यालयदेखि पर्यटकीय गन्तव्यसम्म अहिले क्याफेहरु फैलिएका छन् । यो फैलावटका एकजना सूत्रधार हुन्, हिमालयन जाभाका संस्थापक गगन प्रधान ।

साढे दुई दशकअघि नेपालमा कफी पिउनकै लागि क्याफे जाने संस्कृति स्थापित भइसकेको थिएन । त्यो समय उनले नेपालमा कफी बेच्नेमात्र होइन, कफी पिउने संस्कृति नै विकास गर्ने सपना देखे । नेपाली कफीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने र नेपाललाई कफीको माध्यमबाट चिनाउने उनको सोच आज फलीभूत भएको छ ।

हुन त गगनको हस्पिटालिटी क्षेत्रमा रुचि सानैदेखि थियो । बुबा पर्यटन तथा व्यापार क्षेत्रमा आबद्ध भएकाले बाल्यकालदेखि नै उनी विभिन्न होटल र कार्यक्रममा जाने गर्थे । बुबाबाट पाएको प्रेरणाले उनलाई यो क्षेत्रमा लाग्ने बाटो देखायो ।

सन् १९९९ मा करिब १३ लाख रुपैयाँको लगानीबाट सुरु भएको हिमालयन जाभाको यात्रा आज नेपालभर फैलिएका १२७ आउटलेट र तीनवटा प्रिमियम ‘ग्यालरी बाइ जाभा’सम्म आइपुगेको छ । यो विस्तार एउटा कफी ब्रान्डको व्यावसायिक सफलतामा मात्र सीमित छैन, यसले नेपालमा कफी पिउने नयाँ संस्कृति विकास गर्नुका साथै समग्र कफी उद्योगको विस्तार र विकासका लागि पनि बलियो आधार तयार गरेको छ ।

अनुभव विदेशको, काम स्वदेशमै
भक्तपुरमा जन्मिएका गगनले सिद्धार्थ वनस्थलीबाट विद्यालय शिक्षा पूरा गरेपछि अष्ट्रेलियाको विलियम ब्लु इन्टरनेसनल होटल म्यानेजमेन्ट स्कुलमा हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन गरे । विदेशमा अध्ययनका क्रममा उनले कफी सपहरू नजिकबाट देख्ने र बुझ्ने अवसर पाए । त्यहाँ कफी पिउनेभन्दा पनि मानिसहरू भेट्ने, कुराकानी गर्ने, काम गर्ने र आफ्नो समय बिताउने सामाजिक थलोजस्तै थियो । कफीको स्वादसँगै त्यसले सिर्जना गर्ने वातावरण र अनुभवले उनलाई आकर्षित ग¥यो ।

विदेशमा अध्ययन गर्दा उनले उतै बस्नेबारे कहिल्यै सोचेनन् । त्यहाँ सिकेको ज्ञान र अनुभवलाई नेपालमै प्रयोग गरेर केही नयाँ काम सुरु गर्ने उनको चाहना थियो । पाँच वर्षको अध्ययन पूरा गरी नेपाल फर्किएपछि उनले काठमाडौँको एउटा प्रतिष्ठित होटलमा काम गरे । राम्रो पारिश्रमिक र सुविधा भएको जागिर थियो । तर उनको मन त्यहाँ लामो समय अडिएन । आफ्नै केही सुरु गर्ने र नयाँ पहिचान बनाउने चाहना बलियो हुँदै गयो ।

त्यतिबेला नेपालमा चिया पसल प्रशस्तै थिए । कफी सपको अवधारणा नयाँ थियो । उनले यही खाली ठाउँमा सम्भावना देखे । सन् १९९९ मा अस्ट्रेलियामा अध्ययन गर्दाका साथी आनन्द गुरुङसँग मिलेर काठमाडौँको कमलादीस्थित हेरिटेज प्लाजामा पहिलो हिमालयन जाभा कफी सप सञ्चालनमा ल्याए । करिब १३ लाख रुपैयाँको लगानीमा सुरु भएको व्यवसाय नेपाली बजारका लागि नयाँ प्रयोग थियो । धेरैले कफी सप पनि व्यवसाय हुन्छ र भनेर प्रश्न गर्थे । तर गगन र आनन्द आफ्नो सोचमा स्पष्ट थिए । उनीहरूलाई कफी बेच्नुमात्र थिएन, मानिसलाई नयाँ स्वाद, नयाँ अनुभव र नयाँ किसिमको भेटघाट संस्कृति दिनु थियो ।

हिमालयन जाभा नाम पनि त्यसै सोचको उपज थियो । इन्डोनेसियाको प्रसिद्ध कफी उत्पादन क्षेत्र जाभा र नेपालको हिमालयलाई जोडेर ब्रान्डको नाम राखिएको थियो । नाममै अन्तर्राष्ट्रिय कफी इतिहास र नेपालको भौगोलिक पहिचान समेट्ने प्रयास थियो ।

कमलादीमा सुरु भएको पहिलो आउटलेट चार–पाँच महिनापछि ठमेल सारियो । गगनका अनुसार, हिमालयन जाभाले व्यावसायिक पहिचान बनाएको ठाउँ ठमेल नै हो । पर्यटकको चहलपहलले विदेशी ग्राहकलाई आकर्षित ग¥यो । विदेशबाट फर्किएका नेपाली पनि क्याफेका नियमित ग्राहक बन्न थाले ।

सुरुवाती दिनमा गगन आफैँ कर्मचारीसँगै कफी बनाउँथे, ग्राहकलाई सेवा दिन्थे र दैनिक व्यवस्थापनका काममा खटिन्थे । व्यवसायको हरेक पक्ष नजिकबाट बुझ्दै अघि बढे । आफ्नो यात्राबाट सिकेको सबैभन्दा महत्वपूर्ण पाठ उनी धैर्यलाई मान्छन् ।

‘जस्तो परिश्रम गरे पनि, जस्तो विचार लिएर आए पनि, जस्तो उत्पादन ल्याए पनि हात हाल्नेबित्तिकै अर्को दिन सफलता आउँदैन,’ उनी भन्छन्, ‘सफलता धेरै धैर्यबाट आउँछ ।’
उनको बुझाइमा नयाँ बजारमा प्रवेश गर्दा व्यवसायीले उत्पादनको साथमा विस्तारै त्यसको माग र बजार पनि निर्माण गरिरहेको हुन्छ । त्यसका लागि समय, निरन्तरता र ग्राहकको विश्वास चाहिन्छ ।

‘जुन उद्योगमा सम्भावना देखिएको थिएन, हामीले त्यहीँबाट सुरुवात ग¥यौँ । आज त्यो उद्योग कति ठूलो भइसकेको छ,’ उनी भन्छन्, ‘एउटा सोच र आत्मविश्वास लिएर काम गर्ने हो भने नेपालमा कफीमा मात्र होइन, हरेक क्षेत्रमा सम्भावना छ भन्ने मलाई लाग्छ ।’
हिमालयन जाभाको विस्तारलाई गगन कफी सपको संख्या बढेको घटनाका रूपमा मात्र हेर्दैनन् । ‘एउटा किसानले बोट रोपेदेखि हार्भेस्टिङ गर्ने, कफी ल्याउने, कफी सपले किन्ने, भुट्ने, प्याकेजिङ गर्ने, धुलो बनाउने, कफी बनाउने र अन्तिममा टेबलसम्म पु¥याउने प्रक्रियामा धेरै कथा जोडिएका छन्,’ उनी भन्छन् ।

यही सोचले हिमालयन जाभाको व्यवसायलाई कफी सपको सीमाभन्दा बाहिर विस्तार गरेको छ । आफ्नै कफीखेती र डेरी फार्म, कफी रोस्टिङ तथा उत्पादन, ब्यारिस्टा तालिम र आवश्यक उपकरण व्यवस्थापनसम्मका काम यसले सञ्चालन गर्दै आएको छ । कफी सप सञ्चालनका लागि आवश्यक सफ्टवेयर र एप व्यवस्थापनमा समेत आफ्नै प्रणाली विकास गरेको छ । यसरी उत्पादनदेखि उपभोक्ताको कपसम्मका विभिन्न चरणलाई एउटै व्यावसायिक संरचनामा जोड्नु हिमालयन जाभाको विशेषता बनेको छ ।

१ सय ३० आउटलेट
कमलादीबाट ठमेल पुगेको हिमालयन जाभाको यात्रा विस्तारै काठमाडौँ उपत्यकाबाहिर फैलियो । फ्रेन्चाइज मोडल अपनाएपछि अन्य उद्यमीलाई पनि यस ब्रान्डसँग जोडिएर व्यवसाय सञ्चालन गर्ने अवसर खुल्यो ।

आज दरबारमार्ग, विमानस्थल, मल, असन, बबरमहलदेखि भक्तपुर, बौद्ध, सातदोबाटो र इमाडोलसम्म हिमालयन जाभाका आउटलेट छन् । काठमाडौं उपत्यकाबाहिर पोखरा, इटहरीलगायत विभिन्न सहर र पर्यटकीय गन्तव्यसम्म यसको सञ्जाल फैलिएको छ ।

बत्तीसपुतली, बौद्ध र सानेपामा रहेका ‘ग्यालरी बाइ जाभा’ भने प्रिमियम कफी अनुभव दिने आउटलेट हुन् । यहाँ उच्च गुणस्तरका सिंगल ओरिजिन कफीलाई प्राथमिकता दिइन्छ । इलाम, फिक्कल, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोटलगायतका स्थानमा उत्पादित नेपाली कफीको स्वाद र विशेषतासँग ग्राहकलाई परिचित गराउने प्रयास गरिएको छ ।

सफलताको सूत्रः नरन्तर नयाँ सोच

हिमालयन जाभाको सफलताको एउटा महत्त्वपूर्ण आधार निरन्तर नयाँ सोच र नवप्रवर्तन हो । गगनका अनुसार व्यवसाय सुरु गरेकै समयमा अडिएर बस्ने हो भने त्यसको विकास सम्भव हुँदैन ।

‘कफी बेचेरमात्रै बसिरहेको भए व्यवसाय यसरी अगाडि बढ्दैन थियो होला । सन् १९९९ मा जस्तो थियो, आज पनि त्यस्तै हुन्थ्यो । त्यसैले नयाँ कुरा सिक्ने, सोच्ने र प्रयोग गर्ने क्रम निरन्तर चलिरहनुपर्छ,’ उनी भन्छन् ।

नयाँ अनुभव र विचारका लागि उनी यात्रा गर्छन् । बाहिर देखेका र सिकेका कुरालाई आफ्नो व्यवसायमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सोचिरहन्छन् । उनका लागि यात्रा नयाँ ठाउँ घुम्नुमात्र होइन, व्यवसायलाई नयाँ दृष्टिले हेर्ने र त्यहाँ देखेका, सिकेका कुरालाई समायोजन गर्दै जानु पनि हो ।

हिमालयन जाभालाई उनी आफ्नो वा आनन्द गुरुङको मात्र ब्रान्ड मान्दैनन्, नेपालको ब्रान्ड भन्न रुचाउँछन् । कफीमार्फत देशलाई चिनाउने उनको सपना छ । यही सोचअनुसार जाभाका आउटलेटमा लोगोसँगै सात फिटको नेपालको झण्डा राख्ने योजना पनि बनाइएको छ । नयाँ पुस्तालाई पनि उनी उद्यमशीलताका लागि प्रेरित गर्न चाहन्छन् । नेपालमा अवसर छैन भनेर विदेशतिर मात्र सम्भावना खोज्नुभन्दा आफ्नै देशमा के नयाँ गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनी बताउँछन् ।

गगन प्रधान जो विदेशमा उच्च शिक्षा लिएर नेपालमै फर्की कफी पसलबाट सुरु भएको उनको यात्रा आज हजारौँ मानिसको श्रम, सीप, आम्दानी र सपनासँग जोडिएको छ । उनी भन्छन्– सम्भावना खोज्न सधैँ विदेश पुग्नुपर्दैन । सही सोच, आत्मविश्वास, निरन्तर मिहिनेत र धैर्य भए आफ्नै देशमा पनि नयाँ इतिहास बनाउन सकिन्छ । नेपालमा केही नयाँ कन्सेप्टमा काम गर्यो भने सम्भावनाहरु धेरै छ ।

गगन प्रधानले नेपालमा कफी पिउने संस्कृति विकास गरे, नेपाली कफीलाई बजारसँग जोडे र किसानदेखि उपभोक्तासम्म फैलिएको एउटा व्यावसायिक सञ्जाल निर्माण गरे । यससँगै युवाका लागि सीप र रोजगारीका नयाँ अवसर पनि सिर्जना भए । कुनै समय सम्भावना नदेखिएको क्षेत्रमा उनले देखेको सपना, आत्मविश्वास र निरन्तरको प्रयासले हिमालयन जाभालाई नेपाली ब्रान्डका रूपमा स्थापित गर्न सफल भयो ।

आज गगनलाई आफ्नो प्रेरणाको स्रोत मान्दै नयाँ पुस्ताका धेरै युवा बारिस्टा तालिम लिइरहेका छन् र आफ्नै कफी सप सञ्चालन गर्ने बाटोमा अघि बढिरहेका छन् । ‘हिमालयन जाभाले जसरी नेपालमा कफी कल्चर भित्र्याएर एउटा ब्रान्ड स्थापित ग¥यो, त्यसरी नै हामी पनि केही नयाँ अवधारणामा काम गर्न चाहन्छौँ भन्ने युवाहरू भेटिन्छन्,’ उनी भन्छन् । नयाँ उद्यमीलाई टिप्स दिँदै उनी थप्छन् ‘काम सुरु गर्नुपर्छ, निरन्तर लागिरहनुपर्छ र समयसँगै आफूलाई परिवर्तन गर्दै लैजानु पनि पर्छ । अनि, सफलता प्राप्त गर्न सकिन्छ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000