काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको छ ।
साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको उक्त परिमाणको विद्युत् निर्यातबाट प्राधिकरणले २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । चार महिनाको समग्र औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहे तापनि कात्तिक महिनामा भने प्रतियुनिट औसत ७ रुपैयाँ ६८ पैसाका दरले विद्युत् बिक्री भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । यस अवधिमा असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात हुँदा प्रतियुनिट औसत ९ रुपैयाँ ३१ पैसाका दरले ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा र त्रिपक्षीय सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत् निर्यात हुने गरेको छ । भारतसँगको व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुग्दा निर्यात केही प्रभावित भएको बताए ।
‘निर्यातका लागि स्वीकृति पाएका केही आयोजनाको उत्पादन बन्द भए पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न सफल भएका छौँ,’ उनले भने ।
गत आर्थिक वर्ष २०८२÷८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो भने १ अर्ब १७ करोड युनिट आयातबापत १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो । आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएसँगै नेपाल विगत दुई वर्षयता विद्युत्को खुद निर्यातकर्ताका रूपमा स्थापित भएको छ ।


















