Logo
Logo

भारतीय न्यूज च्यानल जी न्यूज भन्छ, ‘सगरमाथामा भारतको दावी हुनुपर्छ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । नेपालमाथि प्रायः विवादित र अपवाहपूर्ण सामग्री प्रसारण गर्दै आएको आएको भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले फेरि अर्को अपवाह फैलाएको छ । ‘जी न्यूज’ले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ । यसअघि पनि यो न्यूज च्यानलले नेपालबारे पटक पटक विवादित समाचार दिने गर्दथ्यो । यही च्यानलले गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ता लिएको थियो ।
जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेर भिडियो छायाँकन गरेको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमि बनाएर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भनेका छन्, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’
उनले भारतसँग सगरमाथाको साइने भएको समेत दाबी गर्दै यसबारे सन् १८५२ को घटनाको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो, तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।’
चौधरीले बंगालका राधानाथ सिकदरले माउन्ट एभरेस्टको उचाइ नापेको दावी गर्दे माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति भएको दावी गरेका छन् । उनले भनेका छन्, ‘भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।’
चौधरीले अगाडि भनेका छन्, ‘हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।’
भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्