Logo
Logo

अब उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ ।
अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए । अहिलेसम्म कुन–कुन समयमा कुन रंगका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका थिए ।
‘अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हसरयो कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ’ उनको भनाइ छ । विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन शुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ ।
उनका अनुसार डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ । एक दशक पहिले काठमाडौँ उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ ।
उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन् । ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्