Logo
Logo

विश्वको दोश्रो अग्लो हिमाल केटुमा नेपालीले रचे इतिहास


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । विश्वको दोस्रो अग्लो हिमाल केटुलाई हिउँद याममा आरोहण गरेर नेपालका १० जना पर्वतारोहीले इतिहास रचेका छन् । छाङदावा शेर्पाको नेतृत्वमा गएको १० जना नेपालीको टोली आज (शनिवार) ५ बजेर ४५ मिनेटमा हिमाल आरोहण गरेका हुन् ।

पाकिस्तानबाट देखिएको माउन्ट केटु

साभेज माउन्टेनका नामले समेत परिचित विश्वको दोश्रो ठूलो हिमालको सन् १९५३ मा अमेरिकी पर्वतारोही जर्ज बेलले आरोहण गरेका थिए । उनले नै केटुलाई ‘साभेज माउन्टेनझ्को उपनाम दिएका थिए । साभेज माउन्टेन अर्थात् पलपलमा मारिनसक्ने खतरनाक हिमाल । त्यसपछि, सन् १९५४ मा यो हिमालमा इटालियन टोलीले सफलतापूर्वक आरोहण गरेको थियो । तर, केटुको आरोहण हिउँदमा यसअघि कहिलै भएको थिएन । आठ हजारभन्दा अग्ला हिमाल मध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन । पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन मानिन्छ ।

माउन्ट केटु आरोहणका लागि गएको नेपाली टोलीले खडा गरेको क्याम्प

सगरमाथा भन्दा केटु दुई सय ३७ दशमलव ८६ मिटर होचो छ, तर आरोहणका लागि सगरमाथा भन्दा धेरै कठिन छ । ‘पाइला–पाइलामा हिमपहिरोमा परिने जोखिम हुन्छ । आँधीसरि हावा बहन्छ । दैनिक दुईदेखि तीन घन्टा मात्रै आरोहणका लागि सहज हुन्छ, बाँकी समय बाटोभरि हिमपहिरो, हिम आँधी आइरहने हुँदा यो चुनौतीपूर्ण आरोहणलाई नेपाली टोलीले सफलता हात पारेर इतिहास रचेका हुन् ।


यसरी केटु आरोहण गरेर इतिहास रच्नेमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा छन् । चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्