Logo
Logo

ओली–प्रचण्ड भाषणमा सिँगौरी खेल्दै


निरज खतिवडा


काठमाडौं, ५ माघ । हिजो–आज राजनीतिक प्रहसन निःशुल्क हेर्न पाइन्छ । प्रतिनिधिसभा विघटनपछि मुलुक राजनीतिक संकटमा छ । विभाजनपछि नेकपाका नेताहरु एक–अर्कालाई तिखो प्रहार गर्न तँछाड मछाड गर्दै छन् । घोचपेचमा प्रचण्ड–माधवभन्दा प्रधानमन्त्री ओली अग्रपंत्तिमा छन् । प्रधानमन्त्री ओलीकै शव्द सापटी लिने हो भने समस्यामा रहेका नेपालीलाई हसाउँन पनि नपाउने मुलुकमा राजनीतिक परिवर्तनपछि मुहार फेरिएला भन्ने आशा त धेरै परको कुरा हो । अहिले त जनता र जनताका समस्या त मजाक बनेका छन् ।

राष्ट्रपतिले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेको एक महिना पुग्यो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद चर्किदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति समक्ष गरे । त्यही दिन अपरान्ह राष्ट्रपति कार्यालयबाट सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको सूचना जारी भयो ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले नेकपामा त्यसबेला निकै विवाद उत्पन्न गरेको थियो । यो विवाद सच्याउलान् भन्ने आशामा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिनिधिसभा भंगको सिफारिसपछि आक्रोशित बने ।
प्रतिनिधिसभा विघटनको घटनाले नेकपा विभाजित बन्यो । नेकपा विभाजनपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड निकटस्थ नेताहरुबीच ‘वाक युद्ध’ जारी छ ।

हुनत नेपालका राजनीतिक दलहरु विभाजित बनेपछि एकअर्काको खोइरो खन्न अर्काेभन्दा आफूलाई एक पाइला अघि सार्छन् । अहिले त्यस्तै भएको छ, नेकपामा ।  प्रधानमन्त्री ओली व्यंग्य गर्न माहिर छन्, उनकै पदचाप उनी निकटस्थ नेता तथा मन्त्रीहरुले पच्छ्याएका छन् । प्रचण्ड–माधव समूहका नेताहरु पनि के कम ? शव्द वाण प्रहार सिक्दैछन् !

केपी शर्मा ओलीका प्रहारः
प्रतिनिधिसभा विघटन तेस्रो दिन पुस ८ गते प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेर अध्यक्ष प्रचण्ड विरुद्ध तितो पोखे । जीवन शर्माको गीतबाट शव्द सापटी लिदैं पिलो निचोर्दा शरिरको तौल घट्दैन भन्दै ओलीले प्रचण्ड–माधव समूहको बहिगर्मनमाथि प्रहार गरे ।
उनको शव्द वाण त्यतिमा मात्र सिमित रहेन । नदिमा बगेको फोहोर किनारा लाग्दै जान्छ भनेर प्रचण्ड–माधव समूहमाथि हल्का व्यङ्ग्य गरे ।
एक महिनाको अवधिमा धेरै सार्वजनिक अभिव्यक्ति दिएका ओलीले माओवादीले गरेको ‘जनयुद्ध’लाई कुहिएको फर्सीको संज्ञा दिनसम्म भ्याए । जबकी ओली उभिएको जग त्यही जनयुद्धले निर्माण गरेको जग हो ।

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव समुहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति गठन गरेपछि ओली प्रवत्ता श्रेष्ठ विरुद्ध पनि खनिए ।  एउटा कार्यक्रममा उनले भने, ‘लोकतन्त्र आइसकेपछि पनि एउटा मानिस पर्दा पछाडिबाट हात मात्र देखाएर उभिन्छ । माओवादी आन्दोलनका प्रमुख प्रचण्ड खुल्ला भए, कमाण्डर बादल खुल्ला भए तर, जो मानिस पर्दा पछाडि बस्छ । उसैको नेतृत्वमा संघर्ष समिति रे !’
ओलीले सुदूरपश्चिममा भएको आफ्ना कार्यकर्ताहरुको भेलामा भीम रावललाई पनि छाडेनन् । उनले भने, ‘अछामको एउटा केटो, म जेल बस्याँ बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ । भेटाएर मैले राजनीति सिकाएको थिएँ । अहिले त कुराकानी सानातिना छैनन् । मान्छे भन्दा कुरा ठूला ! नानीभन्दा नाना ठूलो, मान्छे भन्दा कुरा ठूलो !

भर्खरै एक कार्यकर्ता भेलामा योगेश भट्टराईलाई पनि ओलीले कटाक्ष गरे । ओलीले भने, ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्तो देखिएको छ । दौडी–दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रहेछ ।’

प्रचण्ड–नेपालबाट ओलीलाई प्रहारः
प्रचण्डले ओलीलाई कमेडियन भने । देश संकटमा रहेको बेला कमेडि चलिरहेको उनको व्यङ्य थियो ।
उनले भन्ने गरेका छन्, ‘मुलुक संकटमा परेको छ । हामी मातम (शोक) मनाइरहेका छौं, तर ओली कमेडी गर्दै हिडेका छन् ।’ प्रचण्ड घुमाउरो भाषामा ओलीलाई धम्की दिदैछन् । प्रचण्ड भन्छन्– ‘शाकाहारी आन्दोलनले भएन, मेरो टाउको चिलाएको छ । लाठी खान मन लागेको छ ।’
अध्यक्ष माधवकुमार नेपालले पनि ओली समूहलाई व्याङ्ग्य गर्न बाँकी राखेका छैनन् ।

ओलीको असंवैधानिक कदमपछि पार्टी विभाजन भयो । पार्टी विभाजनपछि ओली समूहले केन्द्रीय समिति विस्तार गरेर जम्बो बनाए । सोहि विषयलाई नेता नेपालले व्यंग्य गरे –‘वालुवाटार वरिपरि हिड्न मानिसहरु डराउँछन्, कतै ओलीले समातेर केन्द्रीय सदस्य बनाइदिने त होइन भन्ने डर छ ।’
केहि समय अगाडिसम्म देशलाई समृद्ध बनाउँछौ भनेर एकैसाथ बोली मिलाएर हिँडेका नेताहरु अहिले आरोप–प्रत्यारोपमा उत्रिएका छन् । जुन आरोप–प्रत्यारोपको कुनै तुक छैन ।

प्रतिक्रिया दिनुहोस्