Logo
Logo

मुठभेड निम्त्याउँदै सरकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित पार्ने गतिविधि अघि बढाएका छन् । ओलीले कुनै हालतमा प्रतिनिधिसभालाई पुनःस्थापित हुन नदिने रणनीति बनाएका छन् । अदालतलाई धम्क्याउने देखि प्रभावित पार्ने अनेकन चलखेल गरेका छन् । उनका निकटस्थहरु दिउँसै रात पार्ने शैलीमा चलखेलमा लागेका छन् । निर्वाचन आयोगलाई समेत प्रभावित पारेर निर्णय आफ्नो पक्षमा ल्याउन लागिपरेका छन् । अब संविधान, नियम र कानुनबाट नभई बलमिच्याई र शक्तिको दुरुपयोगबाट देश चल्दैछ भन्ने सन्देश ओलीका गतिविधिले दिएका छन् ।

पूर्वसभामुख सुवास नेम्वाङले ‘यो संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको’ अभिव्यक्ति दिएको भिडियो रेकर्ड नै सार्वजनिक छ । आवधिक चुनाव बाहेक मध्यावधि चुनाव र संसद विघटनको परिकल्पना यो संविधानले नगरेको उनको रेकर्डेड भनाई छ । तर, त्यसलाई बिर्सेर उनले ओलीको कदमका पछाडि आफूलाई दगुराइरहेका छन् । उनी प्रतिनिधिसभा विघटनमा ओलीलाई वाध्य पार्नुको कारक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल हुन् भन्दै हिंडेका छन् । असंवैधानिक कदमलाई असंवैधानिक भन्न नसक्नेगरी ओलीसँग बाँधिएपछि उल्टै प्रचण्ड र माधव नेपाललाई दोष लगाउन थालेका छन् ।

यसरी ओली र उनका निकटस्थहरु संविधानको व्याख्या अनुसार चल्नेभन्दा बलमिच्याईबाट चल्न थालेका छन् । अब शक्तिको दुरुपयोग गरी बलमिच्याईबाट प्रतिनिधिसभा विघटनलाई सदर गराउने र निर्वाचन आयोगबाट सूर्य चिन्ह आफ्नो पक्षमा पार्ने प्रपञ्चहरु भइरहेका छन् । यस्ता षड्यन्त्रहरु ओली र उनका निकटस्थहरुबाट भएको चाल पाएर प्रचण्ड र नेपालले पनि संविधनको रक्षाका लागि आँधीबेहरी ल्याउने चेतावनी दिइसकेका छन् । संविधान बचाउन प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन र यसका लागि जुनसुकै कठोर कदमका लागि तयार हुनुपर्छ भन्ने सन्देश प्रचण्डले दिइसकेका छन् । पार्टी कार्यकर्तालाई चुनौतीको सामना गर्न तयार हुन भनिसकेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले अब आन्दोलन शाकाहारी नहुने भनेका छन् । आइतबार युवा–विद्यार्थीको भेलालाई सम्बोधन गर्दै सिंह जस्तै गर्जनको आन्दोलन गर्ने बताए । अब आक्रामक रुपमा प्रस्तुत हुने र लाठी खान पनि आफू तयार हुने दृढता व्यक्त गरे । नेकपाकै अर्का अध्यक्ष नेपालले सुनामी ल्याउने चेतावनी दिइसकेका छन् । उनले अब निर्णायक आन्दोलन भनेका छन् । राजाले प्रत्यक्ष शासन हातमा लिँदा पनि नेपालले अब सुनामी आउँछ भनेका थिए । नभन्दै सुनामी आएर राजतन्त्रलाई नै बगाएको इतिहास साक्षी छ । यसपटक सुनामी र आँधीबेहरी सहित आउने आन्दोलन सामान्य रुपमा नबढ्ने स्पष्ट भएको छ । सडकमा राजनीतिक दलमात्र नभई नागरिक समाज समेत उत्रिएको छ । अब सर्वोच्च अदालतले फैसला नगरे सडकले नै ओली र उनको असंवैधानिक कदमको फैसला गर्ने अवस्था आउने निश्चित भइसकेको छ ।

कुनै हालतमा सत्ता नछाड्ने बरु कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने र देशलाई बर्बाद बनाउने उनको कार्यशैली देखिन्छ । सत्ताका लागि राष्ट्रपति जस्तो संस्थालाई बदनाम बनाउँदै लगेका छन् । यो गणतन्त्र समाप्त पार्ने प्रपञ्च हो । अब उनले अदालतलाई समेत बदनाम बनाउने गतिविधि गर्न थालेका छन् । सिधै हस्तक्षेपको शैली अपनाएका छन् । यो देश र जनताका लागि खतरनाक अवस्था हुनसक्छ । एकपछि अर्को गर्दै देशको महत्वपूर्ण संस्थाहरु बदनाम बनाउने र आफ्नो सत्ता स्वार्थका लागि जे पनि गर्ने ओलीको खतरनाक कदमले मुठभेडको अवस्था सृजना हुँदै गएको छ । देशमा हिंसा मच्चिनसक्ने खतरा बढ्दै गएको छ । संविधानको हत्यासँगै रक्तपात मच्चाएर भएपनि सत्तामा टिक्ने उनको नियत देखिन्छ ।

संविधानको रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन । सत्तामा को जाने र फर्कनेभन्दा पनि संविधान बमोजिम देश चल्ने महत्वपूर्ण विषय हो । जुन संविधान अन्र्तगत प्रधानमन्त्री बने, जुन प्रतिनिधिसभाले दुई तिहाईको प्रधानमन्त्री बनायो त्यसकै निर्ममतापूर्वक हत्या गर्न ओली लागेका छन् । शक्तिको मादकताले पार्टीका सहकर्मीमाथि मात्र नभई पार्टी नै भत्काइदिएका छन् । पाँच दशक लामो कम्युनिस्ट राजनीतिमा लागेका ओली अब कम्युनिस्ट रहेनन् । माधव नेपालले भनेजस्तै उनी ‘बा’ भनेको सुन्न रुचाउँछन् ।

ओली कमरेड शब्द रुचाउँदैनन् । माक्र्स र लेनिनको तस्बिरप्रति उनको मोह भङ्ग भइसकेको छ । ओलीले लालसलाम भन्न छाडेर सलाम भन्छन् । उनी समाजवाद र साम्यवादका दर्शन नभई पुरातनवादी ग्रन्थको लामो प्रवचन दिन रुचाउँछन् । यसरी उनको निरन्तरको गति समाजवादतर्फ होइन गणतन्त्र र धर्मनिरपेक्षता सिध्याउने दिशातर्फ उन्मुख छ । उनको पछिल्ला अभिव्यक्तिहरुले त्यही संकेत गर्दछ । संविधानमाथि निर्मम प्रहारको उद्देश्य त्यस्तै देखिन्छ ।

प्रतिनिधिसभा विघटन गरेर ओलीले ताजा जनादेशको कुरा गरेका छन् । १७ र २७ वैशाखका लागि चुनावको घोषणा गरेका छन् । तर, चुनाव गर्ने नियतले घोषणा गरेका होइनन् । उनी चुनाव पन्छाउँदै सत्तामा टिकिरहने रणनीतिका साथ अगाडि बढेका छन् । एकातर्फ चुनाव घोषणा गरेका छन् भने अर्कोतर्फ चुनावी सरकार नभई ‘फुल फेज’को प्रधानमन्त्री दाबी गरिरहेका छन् । ओली निकटस्थ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओली ‘फुल फेजको प्रधानमन्त्री’ भन्नु अर्थपूर्ण छ । चुनाव नगर्ने र सत्तामा टिकिरहने महत्वाकांक्षाले राजनीतिक परिवर्तनलाई नै धराप बनाउने दिशामा ओली लागेका छन् ।

वास्तवमा ओलीलाई प्रधानमन्त्रीबाट हटाइहाल्ने गरी प्रचण्ड र माधवकुमार नेपाल लागेका थिएनन् । उनीहरु सामूहिक निर्णयमा चल्नुपर्ने, विधिसम्मत पार्टी चलाउनुपर्ने, सरकार सञ्चालन गर्दा पार्टीका नेताहरुको पनि सुझावमा चलाउनुपर्ने पक्षमा थिए । अनुभवले खारिएका नेताहरु भएको दल नेकपामा चार जना पूर्वप्रधानमन्त्री र त्योभन्दा बढी संख्यामा उपप्रधानमन्त्री छन् । उनीहरुसँगको सामूहिक निर्णय र छलफलबाट पार्टी र सरकार चलाउँदा सुनमा सुगन्ध हुनसक्थ्यो । तर, ओलीले एकलौटी गर्दै लगे ।

पूर्वप्रधानमन्त्रीहरुको अपमान गरे । अपमान गर्ने क्रमलाई बढावा दिएका छन् । माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भन्नेदेखि योगेश भट्टराईलाई ‘केटो’ भन्ने सम्मको हर्कत गरे । यसबाट उनको सोच, शैली र व्यवहार उदांगिदै गएको छ । उनले पार्टीमा कति स्वेच्छाचारी गतिविधि गरेका थिए र सरकार कति तानाशाही ढंगले चलाएका थिए भन्ने प्रष्ट भएको छ । राज्य संयन्त्रहरुलाई आफू केन्द्रित बनाएर तानाशाह बनेकै थिए । त्यसको विरोध गर्दा उनले पार्टी नै ध्वस्त पार्न खोजे । रुसमा गोर्वाचोभले गरेजस्तै कम्युनिस्टलाई देशबाट सिध्याउन खोजेका छन् । संविधानलाई कागजको खोस्टो जस्तो व्यवहार गरेका छन् ।

ओलीको घातक कदम अझै रोकिएको छैन । उनी अनेकन घातक राजनीतिक अस्त्रको प्रयोग गरेर देशलाई संकटमा फसाइरहेका छन् । कुनै हालतमा सत्ता नछाड्ने बरु कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने र देशलाई बर्बाद बनाउने उनको कार्यशैली देखिन्छ । सत्ताका लागि राष्ट्रपति जस्तो संस्थालाई बदनाम बनाउँदै लगेका छन् । यो गणतन्त्र समाप्त पार्ने प्रपञ्च हो । अब उनले अदालतलाई समेत बदनाम बनाउने गतिविधि गर्न थालेका छन् । सिधै हस्तक्षेपको शैली अपनाएका छन् । यो देश र जनताका लागि खतरनाक अवस्था हुनसक्छ । एकपछि अर्को गर्दै देशको महत्वपूर्ण संस्थाहरु बदनाम बनाउने र आफ्नो सत्ता स्वार्थका लागि जे पनि गर्ने ओलीको खतरनाक कदमले मुठभेडको अवस्था सृजना हुँदै गएको छ । देशमा हिंसा मच्चिनसक्ने खतरा बढ्दै गएको छ । संविधानको हत्यासँगै रक्तपात मच्चाएर भएपनि सत्तामा टिक्ने उनको नियत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्