Logo
Logo

७० करोडको ठगीमा चलखेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । दुई वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अनुसन्धान गरेको एक मुद्दामा ठूलो चलखेल भएको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारी जोगाउन एक मुख्य व्यक्तिलाई मुद्दा नै नचलाइएको छानबिनमा खुलेको हो ।

भारतीय व्यापारी रामनिरञ्जन जटियाको कम्पनीको शेयर खरिदबिक्रिमामा कीर्ते कागजपत्र प्रयोग गरिएको थियो । उनकै कर्मचारी जीतबहादुर मगरको नाममा कम्पनीको शेयर बिक्रि गरिएको थियो ।
त्यसको पछाडी निरज मानन्धर र राजन लम्साल थिए । उनीहरुले नै जीतबहादुरलाई प्रयोग गरी उनको सम्पत्ति हत्याउने प्रयास गरेका थिए ।

यो गिरोहका अर्का प्रमुख पात्र थिए प्रकाश विक्रम मिश्र । तर, उनलाई सिआइबीले रहस्यमय रुपमा उन्मुक्ति दिएको पाइएको छ । स्रोतका अनुसार भारतीय नागरिक जटियाको वारेसनाकाका रुपमा उनले नै कम्पनी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । तर उनको प्रष्ट ठेगाना नखुलेको भन्दै मुद्दा चलाइएन । जबकी कम्पनी रजिष्ट्रारमा बुझाइएको निवेदनमा उनको नागरिकताको प्रतिलिपी समेत छ ।

राजन लम्साल र मानन्धरले कम्पनी रजिष्ट्रारका कार्यालयका कर्मचारीलाई चिन्दैनन् । उनै मिश्रले कर्मचारीमा सेटिङ मिलाएका थिए । मिश्रलाई भगाएर कर्मचारीलाई जोगाउन उनलाई मुद्दा नचलाइएको स्रोत बताउँछ । जसकारण यतीबेला यो विषयमा अदालतमा समेत प्रश्न उठेको छ । सो मुद्दामा कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीहरु गंगाधर पौडेल, धर्मराज रोकाय, उमेशमान जोशी, नारायणप्रसाद पोखरेल, पुष्पकला राई, आशिष महर्जनलाई समेत मुद्दा चलेको थियो ।

सो मुद्दामा हाल अदालतले कम्पनी रजिष्ट्रारको कार्यालयसँग जवाफ माग गरेको छ । जसमा केही दिनअघि गंगाधर र धर्मराजले आफुर्ला मात्र जोगाउने गरी पत्र तयार पारेको खुलेपछि अख्तियारले समेत त्यसमा छानबिन थालेको छ ।

कीर्ते डाक्टरको खोजीमा सिआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार वर्षअघि ‘अप्रेसन क्वाक’ नामक अभियान चलायो । त्यस अभियानको क्रममा एक सयभन्दा बढी चिकित्सकलाई प्रहरीले पक्राउ ग¥यो । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विदेशका कलेजमा पढेका डाक्टरहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यो घटनाले नेपालका चिकित्सा क्षेत्रमा कुन हदको बदमासी छ भन्ने प्रष्ट भयो । तर, दबाबका भरमा सो अभियानपछि रोकियो । नक्कली प्रमाणपत्रधारी धेरै चिकित्सकले पछि उन्मुक्ति पाएँ । पक्राउ परेकामध्ये धेरैले अदालतबाट सफाइ पनि पाए, अहिले उनीहरु विभिन्न अस्पतालहरुमा उपचारमै संलग्न छन् ।

चिकित्सा क्षेत्रमा अरु पनि धेरै विकृति रहेको नेपाल मेडिकल काउन्सिलको छानबिनबाट खुलेको छ । एमडी अध्ययनका क्रममा समेत यस्तै कीर्ते धन्दा हुने गरेको काउन्सिलको छानबिनमा खुलेको छ । काउन्सिलले त्यस्ता तीन चिकित्सकलाई पक्राउ गरी कारबाही गर्न हालै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको छ । तीन चिकित्सकलाई पक्राउ गर्न सिआइबीको टोली परिचालन भएको स्रोत बताउँछ ।

 

प्रतिक्रिया दिनुहोस्