Logo
Logo

धोका नै जीवनको शिक्षा हो-ऋतिका जिरेल, मोडल


- दृष्टि न्युज/संवाददाता


मोडल ऋतिका जिरेल आफूलाई ‘रिर्जभ’ ठान्छिन् । थोरै काम, धेरै चर्चाको विषयको सन्दर्भमा ऋतिकाले यसरी प्रस्तुत गरेकी हुन् । सन् २०१४ देखि मोडलिङ क्षेत्रमा सक्रिय ऋतिका भन्छिन्, ‘अफर आएका सबै काम गर्दिनँ, म अलिक रिर्जभ टाइपकी छु ।’ दोलखाकी उनी टिभिसी एड हुँदै मोडलिङमा प्रवेश गरेकी हुन् । ऋतिकाले हालसम्म करिब तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छन् । गायिका समेत रहेकी ऋतिका बेला–बेला सोसल मिडियामा चर्चामा आइरहेकी हुन्छिन् । एकपटक धानको बियूले मात्र शरीर ढाकेको उनको फोटोसुट ‘भाइरल’ बनेको थियो । कृषिजन्य जमिन प्लटिङ गरी मास्ने कार्यको विरोधमा गरिएको उक्त फोटोसुट विवादितसमेत बन्यो । ‘त्यो फोटोसुटको दुई दिनसम्म सहनै नसक्ने गाली खाएँ’ ऋतिकाले भनिन्, ‘तर, त्यो फोटोसुट सामाजिक हितका लागि थियो ।’ मोडलिङ र गायनलाई एकसाथ अँगाल्दै आएकी उनी हाल राम्रो व्यानरको फिल्मको पर्खाइमा छिन् । गायिका समेत रहेकी मोडल ऋतिकासँग दृष्टिको जम्काभेट :

नयाँ हालचाल के छ ?

कोरोना महामारीले गर्दा घरमै थन्किएर बसेको नौ महिना भइसक्यो । बल्ल सामान्य अवस्था आउँदैछ । अहिले केही नयाँ कामका लागि तयारीमा जुटेकी छु । केही दिनमै नयाँ गीत रेर्कड गर्दैछु ।

तपाइँ गायिका कि मोडल ?

म अलि–अलि दुवै हुँ । कलाकारिताको करिअर भने मोडलिङबाट सुरु गरेकी हुँ । तर, गाउने रहर पनि मेरो सानैदेखि हो । अहिले मोडलिङ र गायनलाई सँगै लिएर अगाडि बढेकी छु ।

मोडलिङ सजिलो कि गायन ?

उस्तै लाग्छ । हुन त मोडलिङमा भन्दा गायनमा बढी मिहिनेत गर्नुपर्छ । तर, मेरो इच्छा र रहर दुवैमा भएकाले सहज लागिरहेको छ ।

तपाइँ बेला–बेला फोटोसुट गरेर चर्चामा आउनुहन्छ होइन त ?

मैले चर्चाका लागि फोटोसुट गरेकी थिएन, तर, त्यतिखेर चर्चा र विरोध दुईटै भयो ।

धानको बियूमात्र शरीर ढाकेर फोटोसुट गर्नुको उद्देश्य के थियो ?

पछिल्लो समय खेतीजन्य जमिन प्लटिङ गरेर कृषिका लागि उर्वर जमिन मास्नेक्रम बढेको छ । त्यसैको सांकेतिक विरोध जनाउन उक्त फोटोसुट गरिएको थियो । तर, मान्छे त्यो कुरा नबुझिदिएपछि आलोचना गरे ।

आलोचना गर्नेहरुले के भने ?

धेरैले त विकृति भयो रे । दुई दिनसम्म त यति धेरै गाली आयो कि मैले सहनै सकिन । विस्तारै नर्मल बन्दै गयो ।

कस्तो लागिरहेको छ मोडलिङ पेशा ?

मलाई रमाइलो लागिरहेको छ । आफैले रोजेको क्षेत्र भएकाले पनि खुसी छु ।

मोडलिङमा प्रेम र रोमान्स सामान्य भन्छन्, तपाइँलाई के लाग्छ ?

कलाकारितामात्र होइन, हरेक क्षेत्रमा प्रेम र रोमान्स हुन्छ । तर, मोडलिङ वा कलाकारिता भनेको मिडिया क्षेत्र भएकाले बाहिर आएको हो । प्रेम र रोमान्सका लागि मात्र भनौँ यही क्षेत्रबाट धेरैले जिविका पनि चलाइरहेका छन् । रोमान्स गर्ने भनेको चाहिँ आफूमा भर पर्ने कुरा हो । त्यो पनि आफूलाई चित्त बुझे मात्र ।

ग्ल्यामरस क्षेत्रमा विशेषगरी प्रलोभनमा पारेर शोषण हुन्छ भनिन्छ । तपाइँलाई कस्तो लाग्छ ?

मैले पनि यस्तै सुनेकी थिएँ । तर, यो क्षेत्रमा आएपछि त्यस्तो पाइनँ । प्रलोभनमा पर्ने कुरा आफूमा भरपर्छ । म रिर्जभ टाइपकी छु । त्यसैले प्रलोभन पर्न सक्दिनँ ।

प्रेम प्रस्ताव गर्नेहरुको कतिको भेट्नुभएको छ ?

एउटी युवतीलाई प्रेम प्रस्ताव आउनु सामान्य हो । कति जिस्केर भनेका हुन्छन् भने केहीले सिरियस्ली पनि भनेका हुन्छन् । तर, अहिले पनि सिंगल छु ।

जीवनमा धोका खानुभएको छ कि छैन ?

हिँड्दै जाँदा अवश्य लडिन्छ । तर, धोका नै जीवनको शिक्षा हो भन्ने लाग्छ । धोकाले जीवनमा भोलिका दिनमा कसरी हिँड्ने भन्ने सिकाउँछ ।

फिल्ममा काम गर्ने सोच छैन ?

सोच छ । फिल्मका लागि अफरहरु पनि आइरहेका छन् । तर, भनेजस्तो पाएकी छैन ।

कस्तो फिल्म पाए काम गर्नुहुन्छ ?

चेतनामूलक र सामाजिक विषयका फिल्ममा काम गर्ने मन छ । विशेषगरी नारी शसक्तीकरणका विषय भएका फिल्ममा काम गर्ने सोच छ ।

 

प्रतिक्रिया दिनुहोस्