Logo
Logo

रावा बैंकमार्फत बुझाइने कर मोबाइल बैकिङबाटै भुक्तानी गर्न सकिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेफोनपे पेमेन्ट सर्भिसबीच सम्झौतासमेत भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरे । यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।

यस्तै वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ । मोबाइल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदाताहरूलाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ताले मोबाइल बैंकिङ लगअन नै नगरी बाहिर रहेको मर्चेन्ट पेमेन्टको अप्सनमा गई रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरी करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्