कांग्रेसलाई दुबै हातमा लड्डु, सर्वोच्च अदालतको फैसलापछि मात्र मुख खोल्ने « Drishti News – Nepalese News Portal
Logo

कांग्रेसलाई दुबै हातमा लड्डु, सर्वोच्च अदालतको फैसलापछि मात्र मुख खोल्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । वर्तमान राजनीतिक संकटमा नेकपा विभाजनले नेपाली कांग्रेस निर्णायक बनेको छ । संघीय सरकारदेखि प्रदेश सरकारहरुमा कांग्रेसको साथ विना दुबै नेकपाले नेतृत्व लिन सक्दैनन् । तर, कांग्रेस ठोस निर्णयमा पुगेको छैन । कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको नेताहरुले बताएका छन् ।

यतिवेला प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन् । ति अविश्वासका प्रस्तावहरु पारित गर्न वा अस्वीकार गर्न कांग्रेसकै साथ चाहिन्छ । त्यसका लागि नेकपाका प्रचण्ड–माधव तथा ओली समूहले छुट्टा–छुट्टै रुपमा कांग्रेससँग सहकार्य खोजेका छन् ।

कांग्रेसका एक नेताले भने, ‘दुबै समूहले दुई वटै प्रदेशका मुख्यमन्त्री नै कांग्रेसलाई दिन्छौं, साथ चाहियो भनेका छन् । तर तत्काल नै सरकारमा जाने पक्षमा छैन । संघदेखि प्रदेशसम्म एकमुष्ठ सहमति गरेरै जान सकिन्छ ।’ प्रदेश मुख्यमन्त्री मात्र होइन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राइम टाइम टेलिभिजनको एक कार्यक्रममा अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो समेत भनेका छन् ।

अब नेकपाको प्रचण्ड–माधव समूह संसद पुनस्र्थापना भएपछिको परिवेशमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्री प्रस्ताव गर्ने ‘मुड’मा देखिन्छ । कांग्रेसले पछिल्लो परिस्थितिका बारेमा अनौपचारिक छलफलहरु अघि बढाएको छ । बुधबार मात्र सभापति शेरबहादुर देउवाले प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

उनीहरुले हालका मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्न नहुने सुझाव दिएका छन् । पार्टी सभापति देउवा भने भीम आचार्यलाई पनि साथ दिने पक्षमा छैनन् । नेताहरुका अनुसार देउवाले आचार्य कांग्रेसका लागि निकै अनुदार भएको बताएका थिए । तर कांग्रेसले प्रतिनिधिसभा विघटनलाई गलत भनेका कारण प्रधानमन्त्री ओलीलाई नै साथ दिने अवस्था पनि नरहेको नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतको निर्णय नआएसम्म कांग्रेसले ठोस निर्णय नगर्ने संकेत गरेको छ । संसद पुनस्र्थापना भए आफ्नै नेतृत्वमा सरकार बनाउने सभापति देउवाको भित्रि तयारी छ । विघटन सदर भए निर्वाचनमा गएर पहिलो दल बन्दै सरकार गठन गर्ने पक्षमा पनि कांग्रेस छ । दुबै हातमा लड्डु बोकेर बसेको कांग्रेस अहिले नै संघ वा प्रदेश कतैपनि नेकपाका दुबै समूहलाई साथ नदिने ‘मूड’मा छ ।

सभापति देउवालाई आफ्नै पार्टीको समिकरण मिलाउनुपर्ने चुनौति पनि छ । उनले त्यसको प्रयास पनि थालेका छन् । दुईदिनअघि मात्र वरिष्ठ नेता रामचन्द्र पौडेल निवास वोहोराटार नै पुगेर उनले फकाउन खोजे । अब सर्वोच्च अदालतको फैसला अघि कांग्रेसले कुनै निर्णय नलिने संकेत गरेको छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसले सबै वडामा प्रदर्शन गर्दै

प्रतिक्रिया दिनुहोस्