Logo
Logo

दुर्घटनामा चालक परिवर्तन प्रकरणः इन्सपेक्टरसहितका प्रहरीलाई सफाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ ।
दुर्घटनामा वास्तविक चालकलाई जोगाएर नक्कली चालकलाई मुद्दा चलाएको अभियोग लागेका नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसीसहित चार प्रहरीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश प्रेमराज कार्कीसहित न्यायाधीहरू नित्यानन्द पाण्डेय र चन्द्रबहादुर सारूको इजलासले आइतबार इन्स्पेक्टरसहित सबैलाई सफाइ दिएको हो । पर्याप्त प्रमाण हुँदाहुँदै पनि सफाई दिइएकोमा अख्तियारका अनुसन्धान अधिकृतहरु आश्चर्यमा परेका छन् ।

२०७६ को बैशाख ११ गते गैंडाकोटमा दुर्घटना भएको थियो । सो घटनामा इलाका प्रहरी कार्यालय, गैँडाकोटका तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर जिसीको निर्देशनमा दुर्घटनाका चालक परिवर्तन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको थियो । यसमा १० लाख रुपैयाँको आर्थिक चलखेल रहेको दाबी गरिएको थियो ।

दुर्घटनामा बोधराज पाण्डे वास्तविक चालक रहेकोमा किसुना महतोलाई खडा गरी मुद्दा चलाइएको अभियोगमा इन्स्पेक्टर केसीसहित अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देवबहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बलबहादुर वलीविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरू सबैले सफाइ पाएका छन् ।

गाडीको ठक्करबाट नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएको थियो । व्यवसायी रहेका चालक पाण्डेलाई जोगाउन महतोलाई चालकको रूपमा खडा गरिएको पाइएपछि प्रहरीले समेत आन्तरिक छानबिन गरी इन्स्पेक्टर जिसीलगायतलाई निलम्बन गरेको थियो । पछि अख्तियारले छुट्टै मुद्दा चलायो ।
चालक परिवर्तन घटनाको योजना बोधराज पाण्डेका भाइ शालिकराम पाण्डे भएको भन्दै आयोगले उनलाई समेत मुद्दा दायर गरेको थियो । चार प्रहरी र तीन सर्वसाधारणले मुद्दामा सफाइ पाएका हुन् ।
त्यतिवेला प्रहरी कार्यालयको सिसिटिभी फुटेज, विभिन्न व्यक्तिको बयानका आधारमा आयोगले मुद्दा चलाएको थियो । घटनास्थलको वेला महतो आफ्नै घरमा देखिएको आयोगको अभियोगमा उल्लेख थियो । तर, विशेषले दाबी नपुगेको भन्दै सफाइ दिएको छ । यसबाट चारै प्रहरीको जागिर जोडिएको छ । अख्तियारले भने पुनरावेदन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्