Logo
Logo

प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको आज शक्ति प्रदर्शन, एक लाख भन्दाबढी कार्यकर्ता उतार्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड-माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौंका मुख्यस्थानहरुबाट र्याली निकाल्ने तयारी रहेको छ । नेकपा प्रचण्ड–माधव समूहले एक लाख भन्दाबढी कार्यकर्ता उतार्ने भएको छ ।

विभिन्नस्थानबाट निस्किने र्यालीमा स्थायी कमिटी सदस्यहरुले नेतृत्व गर्दैछन् । काठमाडौं र ललितपुरका नौ स्थानबाट सुरु हुने र्यालीका लागि पौने ११ बजे नै जम्मा भइसक्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी सदस्यहरु गणेश साह, गिरिराजमणि पोखरेल, मातृका यादव, हरिबोल गजुरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले माइतीघरको जुलुशको नेतृत्व गर्दैछन् ।

लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् । डिल्लीबजार चारखालको जुलुसमा वर्षमान पुन र वेदुराम भुसाल हुनेछन् । कुपण्डोलबाट निस्किने जुलुसमा पम्फा भुसाल, कृष्णबहादुर महरा लगायत रहनेछन् ।

यस्तै, प्रदर्शनीमार्ग, , शान्तिबाटिका लगायतका स्थानबाट पनि जुलुस निस्किने छन् । बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भएर मूल जुलुसमा परिणत हुनेछ ।

सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्