Logo
Logo

१७ जनाको शव ल्याइयो, ३७ अझै मलेसियामै (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय सन्नाटा छायो । जहाँ, धन कमाउने सपना र अभिलाषा बोकेर विभिन्न समयमा मलेसिया पुगेका १७ जनाको शव आइपुगेको थियो । एकैसाथ १७ शवका लस्कर देखिएपछि मृतकका आफन्तमात्र नभएर विमानस्थलकै कर्मचारीसमेत स्तब्ध भए ।
मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ ।
मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० जहाजबाट १७ जनाको शव र एउटा अस्तु नेपाल ल्याइएको हो । ती शव लिन नेपाल वायुसेवाको जहाज शुक्रबार राति ११ बजे मलेसिया गएको थियो । महिनौँदेखि अलपत्र अवस्थामा रहेका नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको हो ।
विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका ती शवहरु सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिने समस्या कारण उतै अड्किएका थिए ।
शनिबार ल्याइएको शव लिन केहीका आफन्त विमानस्थल पुगेका थिए भने कतिपय आएका थिएनन् । शव लिन पुगेका आफन्तको आँशु र विलौना देखेर सन्नाटा छाएको थियो । ती शवहरुलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पु¥याउनेछ ।
विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए । उनले भने, ‘नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुखदुःखमा साथमा हुनुपर्छ र यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ ।’

प्रतिक्रिया दिनुहोस्