Logo
Logo

खोपको वितरण न्यायोचित हुनुपर्छ : राष्ट्रपति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायतमा आभार व्यक्त गरेकी छन् ।
कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा बुधबार राष्ट्रपतिले सन्देशमार्फत सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति सम्मान व्यक्त गरेकी छन् ।
खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट धन्यवाद दिँदै उनले विश्वका सबै राष्ट्रमा खोपको वितरण न्यायोचित र समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको मान्यता रहेको जनाएकी छन् ।
उनले सन्देशमा भनेकी छन्, ‘कोभिड–१९को विश्वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ । यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनुपरेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन् । यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन । यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ । यसबाट विश्वभरि नयाँ आशा र विश्वासको सञ्चार भएको छ ।’

प्रतिक्रिया दिनुहोस्