अध्यागमनमा सेटिङ्गै सेटिङ « Drishti News – Nepalese News Portal
Logo

अध्यागमनमा सेटिङ्गै सेटिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अध्यागमन विभागबाट बैदेशिक रोजगार विभागमा र त्यहाँबाट पुनः अध्यागमनमा ओहोर दोहोर गर्ने कर्मचारीको ताँती छ । यस्तै कर्मचारीको सेटिङमा अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले नै हालीमुहाली घुस असुलीको गोरखधन्दा चलाइरहेका छन् । ती कर्मचारीमध्ये अधिकांश विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका, अकूत सम्पत्ति आर्जनमा छानबिन गरेकाहरु छन् ।

बैदेशिक रोजगार विभागमा मानवतस्करीको लाइन चलाएर ‘घुस लेनदेनमा अनुभवी’ अध्यागमन विभागमा सरुवा हुने क्रम बढिरहेको छ । बैदेशिक रोजगार विभागबाट एयरपोर्ट अध्यागमन कार्यालयमा सरुवा हुने कर्मचारीका कारण नेपालबाट गएको असोजमा १ सय ८४ जना महिला कामदार(हाउसमेड) कुवेत गएका थिए । बैदेशिक रोजगार विभागले अनुमति दिए पनि अध्यागमनले ती महिला कामदारलाई रोक्न सक्थ्यो । तर, म्यानपावर व्यवसायीसँग सेटिङ भएकै कारण उनीहरु कुवेत जान सफल भएका थिए । कानुनतः सबै प्रक्रिया पूरा गरेर जाने यात्रुलाई अनेक बहानामा दुःख दिने अध्यागमनका कर्मचारीले नेपालबाट हाउसमेड पठाउन प्रतिबन्ध भए पनि सेटिङ मिलाएर पठाएका थिए । अध्यागमनमा बैदेशिक रोजगार विभागबाट सरुवा भएका कर्मचारीले नै मानवतस्करीमा सघाउ पु¥याए पनि अख्तियारले उनीहरुविरुद्ध मुद्दा चलाएन । बैदेशिक रोजगार विभागका कर्मचारी र ब्यवसायीविरुद्ध मात्र मुद्दा चलाइएको थियो ।
गृहमन्त्री रामबहादुर थापाले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन समितिको संयोजक बनाएका इश्वरराज पौडेललाई अध्यागमन विभागको महानिर्देशक बनाएपछि सेटिङ झन् बढेको छ । ‘घुस लेनदेनमा अनुभवी’हरु महानिर्देशक पौडेलका प्रियपात्र छन् । उनले घुस असुलीका लागि अध्यागमन अधिकृत कुलशेखर अर्याललाई परिचालन गर्दैआएका छन् । अर्यालले विदेशबाट ओभरस्टे भएर फर्काइएकाहरुसँग बार्गेनिङ गरी भनेजति रकम पाएपछि सट्याकसुटुक मिलाएर छाडिदिने गरेका छन् । रकम नदिनेलाई कानुनका दफा देखाएर तर्साउने गरेका छन् । नेपालभित्र ओभरस्टे बसेका विदेशीहरु त उनका सबैभन्दा बढी घुस लिने माध्यम भएका छन् । नेपालमा ओभरस्टे बस्ने विदेशीहरुको संख्या हजारौं छ । स्रोतका अनुसार अध्यागमनमा विगतमा केदार न्यौपाने महानिर्देशक हुँदा भन्दा बढी सेटिङ पौडेलले चलाएका छन् ।
अध्यागमनबाट मानवतस्करीको सेटिङ मिलाउने काम निर्देशक विष्णुहरि उपाध्यायले गर्दैआएका छन् । उनी लामो समय बैदेशिक रोजगार विभागमा काम गरी अध्यागमन विभागमा सरुवा भएका उपसचिव हुन् । नायबसुब्बा शिव गौतमहरु पनि महानिर्देशकका असुली गर्ने विश्वासपात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्