Logo
Logo
अन्तर्वार्ता

ओली श्री ३ महाराज बन्ने सपना देख्दैछन्


मोहनचन्द्र अधिकारी


मोहनचन्द्र अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनका आर्दश पात्र हुन । उनीमात्र यस्ता व्यक्ति हुन जो आजसम्म पनि कम्युनिष्ट आदर्शमै बाँचेका छन् । नेपालका नेल्सन मण्डेला भनेर चिनिने अधिकारीले कम्युनिष्ट भएकै कारण उनले १७ वर्ष जेलमा बिताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र अधिकारी त्यो समय जेल सारथी मात्र होइनन, सहयोद्धा थिए । उनै सहयोद्धा मोहनचन्द्र अधिकारी ओलीको कदमसँग अलिकति पनि सहमत छैनन् । ओलीलाई श्री ३ भन्न थालेका उनै नेपाली कम्युनिष्ट आन्दोलनका आर्दश मोहनचन्द्र अधिकारीसँग गरिएको कुराकानी प्रस्तुत छः

– गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको घटनालाई कसरी हेरिरहनुभएको छ ?
यो त राजा महेन्द्रले २०१७ साल पुस १ गते, त्यसपछि राजा ज्ञानेन्द्रले २०५९ साल माघ १९ गते ‘कू’ गरेजस्तै हो । त्यतिबेला पनि श्री ५ महाराजधिराजले संविधानमै टेकेर लोकतन्त्रको हत्या गरे । अहिले श्री ३ खड्गप्रसाद ओलीले पनि संविधानमै टेकेर ‘कू’ गरे । यसर्थ, पूर्वराजा, महाराजाभन्दा ओली कुनै अर्थमा भिन्न छैनन् भन्ने कुरा उनको व्यवहारले देखाएको छ । उनी श्री ३ बन्ने धुनमा छन् ।

– यस्तो अवस्था किन आयो होला ?
त्यो त खड्गप्रसाद ओली र विद्या भण्डारीलाई सोध्नुपर्ला । मेरो विचारमा पार्टीभित्रको विवाद समाधान गर्न नसकेको कारण यो अवस्था आएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा भएको सहमति ठिक ढंगले कार्यान्वयन नभएकोले बीच बाटोमै दुर्घटना निम्तिएको हो । यसका लागि मैले पहिलो अध्यक्ष खड्गप्रसादलाई नै दोष दिन्छु । किनभने, खड्गप्रसाद विधि, पद्धतिसम्मत ढंगले हिँड्ने चरित्रका मानिस नै होइनन् । उनले आफूभित्रको कमजोरी सच्याउने प्रयास कहिले पनि गरेनन् । दुई पार्टी मिलाएर उँचो छवि बनाएका खड्गप्रसादले केही गर्ला भन्ने आशा थियो । त्यो सबै आशा र विश्वासलाई उनले टुकुचामा बगाइदिए ।

– पार्टी एकता गर्दा भएको सहमति त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७६ मंसिर ४ गते सच्याएका होइनन् र ? अनि फेरि ओलीमाथि के को दोष ?
निर्वाचनमा दुई पार्टी मिलेपछि जनताले दुईतिहाइ मत दिएका हुन् । अहिले ओलीले पहिरिएको ‘श्रीपेच’ त्यही दुईतिहाइको उपहार हो । जनताले खड्गप्रसादलाई मनपरी गर्न दुईतिहाइ मत दिएका होइनन् । शान्ति, स्थिरता र आर्थिक समृद्धि जनताको चाहना थियो । त्यसका लागि प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा छाडे । त्यो उनको महानता हो । तर, ओलीले छट्टु खेल खेले । प्रचण्डलाई धोका दिने मात्र काम गरेनन्, सिंगो कम्युनिष्ट आन्दोलनलाई घात गर्ने काम गरे, लोकतन्त्रको हत्या गरे । भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णय ओलीले पालना गरेको भए, यो स्थिति आउने थिएन ।

– यस्तो स्थिति आउनुको पछाडि विदेशी शक्तिको खेल छ पनि भनिन्छ नि ?
किन नहुनु ? खड्गप्रसाद भनेका विदेशी शक्तिका एजेन्ट हुन् । सोनिया गान्धीदेखि प्रणव मुखर्जीसँग उनको त्यतिबेलादेखि नै सम्बन्ध थियो । अहिले त दिल्लीबाट सोझै विशेष विमान चढेर ‘र’का प्रमुख बालुवाटार छिरे । एमसिसी पारित गर्न दिएन भनेर प्रचण्ड–माधवको विरुद्ध विदेशी कूटनीतिज्ञहरुसँग कुरा गरेका छन् । उनको यो चरित्र गैरमाक्र्सवादी अवसरवादी चरित्र हो । उनको यो सबै क्रियाकलाप हेर्दा पनि उनी नक्कली राष्ट्रवादको जगमा उभिएका छन् भन्ने घटनाबाट देखिन्न र ?

– तपाईले ओलीमाथि यस्तो आरोप लगाइरहँदा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको कुरालाई के भन्नुहुन्छ ?
त्यो भूभाग हाम्रै हो । भारतीय सेना आएर बस्दैमा उसको हुने होइन । २१औं शताब्दीको विश्वमा कूटनीतिक माध्यमबाट विदेशी सेना हटाउनुपथ्र्यो । त्यस विषयमा आजसम्म पहल भएको थिएन । त्यसमा ओलीले संसद्बाट नयाँ नक्सा पास गरे, त्यसलाई सबैले ठिक भनिरहेका छन् । तर, के नक्सा निकाल्नु मात्रै राष्ट्रवाद हो कि, अतिक्रमित भूमिबाट विदेशी सेना हटाउनु राष्ट्रवाद हो ? विदेशी सेना हटाउने ताकत र हैसियत खड्गप्रसादले गुमाए । उनीसँग दुईतिहाइ मत भएको भए त्यो जनताको तागतले विदेशी सेना हट्न बाध्य हुन्थे । अहिले त उनी ‘कामचलाउ’ भइसके । कामचलाउ प्रधानमन्त्रीलाई कसले टेर्छ ?

– संसद् पुनःस्थापनाको सम्भावना कत्तिको देख्नुहुन्छ ?
खड्गप्रसादको असंवैधानिक, अलोकतान्त्रिक कदमको न्यायालयले किन संरक्षण गर्ला र ? न्यायमूर्तिहरुले पनि संविधानको धारा केलाइरहेका होलान् । पत्रपत्रिका, मिडियामा आएका कुरा हेर्दा न्यायालयले ओलीलाई जोगाउने ठाउँ म देख्दिन । न्यायालयले पनि लोकतन्त्रको रक्षा गर्नुपर्छ । किनभने, स्वतन्त्र न्यायपालिका भनेको लोकतन्त्रको प्राण हो ।

– सर्वोच्च अदालतले पनि ओलीको कदम ठिक हो भन्यो भने नि ?
सडक आन्दोलनबाट लोकतन्त्रको रक्षा गर्नुपर्छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि सडकले स्थापित गरेको हो । विश्वका कस्ता कस्ता तानासाहलाई त जनताले लखेटे भने त्यो खड्गप्रसाद को हो र ? त्यसैले विश्वमा जति पनि तानासाह पतन भएका छन्, त्यो आन्दोलनबाटै पतन भएका छन् ।

– ओलीले यस्तो असंवैधानिक कदम किन चाले होलान् जस्तो लाग्छ ?
रातारात महाकाली नदी भारतलाई जिम्मा लगाउनेले अब देशै भारतलाई जिम्मा लगाउने खेल खेल्दैछन् । जनता नजाग्ने हो भने देश फेरि पनि सिक्किम वा भूटान बन्ने खतरा छ । त्यसैले यो सबै खतराबाट देश जोगाउन जनता आन्दोलनमा आउनुपर्छ । देशका मालिक भनेका नेपाली जनता हुन् । ७० वर्षको इतिहासमा जनताको बलमा स्थापित लोकतन्त्र पनि जनताले जोगाउँछन्, त्यसमा ढुक्क हुनुहोस् ।

– संसद् विघटन गर्नुको कारण आफ्नै पार्टीका नेताहरुले कामै गर्न दिएनन् भन्दैछन् त प्रधानमन्त्री ?
यो साढे दुई वर्षमा उनले गरेका एउटा राम्रो काम यो हो भनेर मलाई देखाउनुस् त ! ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने भ्रष्टाचार गर्ने जतिको संरक्षण पनि गर्ने, त्यत्रो कोरोनाको बेला जनता भोकभोकै, हप्तौं हिँडेर घर पुगे । हजारौं श्रमिक मजदुरले रोजगारी गुमाए, काठमाडौंमा डेरा भाडा लिएर गुजारा गर्ने लाखौं मध्यम वर्गीय परिवार बिचल्लीमा परे, भारतबाट लाखौंको संख्यामा नेपालीहरु घर फर्किए तिनको लागि सरकारले के ग¥यो ? भएभरका उद्योगधन्दा, कलकारखाना बन्द भए, के मालिक के मजदुर सबैको बिचल्ली भयो, बैंकको ब्याज तिर्न नसकेर मालिक रन्थनिएका छन् । १०, १२ अर्ब सकियो भनियो, कहाँ सकियो, जनतालाई हिसाब दिएको खोई ? आफूलाई राष्ट्रवादी भन्नेले भारतबाट खोप भिख माग्न लाज लाग्दैन ? जनता जीवनमरणको दोसाँधमा भएको बेला जनताको जीवन रक्षा गर्नुपर्नेमा चुनाव गर्ने हो र ? यो बेमौसमको बाजा हो । खड्गप्रसादको यो श्री ३ महाराज बन्ने सपना हो । त्यो पूरा हुने छैन ।

– ओलीसँग चौध वर्षसँगै जेल बस्नुभयो । दुःख सुख बाँड्नु भयो । अहिले ओलीलाई श्री ३ भन्न थाल्नुभएको छ । बालुवाटारले बोलाउँदैनन् पेडा खान ?

त्यसको पेडा खान को जान्छ ? म ८४ वर्षको भएँ । सञ्चो बिसञ्चो समेत सोध्दैनन् । मेरो पनि कुनै गुनासो छैन । देश र जनताको लागि राम्रो काम गरे हुन्थ्यो भन्ने मेरो कुरा हो । तर हेर्छु, सुन्छु खड्गप्रसादको तालै ठिक छैन । जे मन लाग्छ, त्यो गर्दै हिँड्छ । जे मन लाग्छ त्यो बोल्दै हिँड्छ । आफ्नो पदीय मर्यादासमेत उनले कायम गर्न सकेका छैनन् । यो पार्टी खड्गप्रसाद एक्लैले बनाएका होइनन्, सयौँ, लाखौं, जनताको बलिदानीबाट यो पार्टी बनेको हो भन्नेसम्म हेक्का राख्न छाडे । आफू के का लागि चौध वर्ष जेल बसे भन्ने कुरा पनि बिर्सिए । सिंगो पार्टी निर्माणमा योगदान पुर्याएका आफ्नो सहयोद्धाहरुमाथि अपमान गदैछन् । जे मन लाग्यो त्यो आरोप लगाउँदैछन् । उनी कम्युनिष्ट नेता होइनन्, बुजुर्वा नेताभन्दा तल्लो स्तरमा झर्दैछन् । संसद् विघटनको घटनाले त उनी पूरै तानाशाह श्री ३ महाराज बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्