काभ्रे, १७ माघ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)० काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठकमा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे ।
‘हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौँ, यो लडाइँमा सहयात्री बनेकाले त्यो लडाइँमा साथ नदिएर व्यक्तिगत स्वार्थमा लागे, यसले राष्ट्रवादमाथि खतराको सङ्केत दिएको छ’, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने ।

सहयात्रीको व्यक्तिगत स्वार्थले ‘चुच्चे नक्शा’ भनेर खिल्ली उडाउनेलाई साथ दिइरहेको उनको दाबी छ । ‘१४६ वर्षदेखि लुकाएर राखिएको नेपालको विस्तारित राज्यको नक्शा वर्तमान प्रधानमन्त्रीले सार्वजनिक गर्दा पाएको प्रशंसा सहन सकेनन् र अविश्वासको प्रस्ताव दर्ता गर्नसम्म भ्याए, यसलाई कसरी लिने तपाईँहरु आफैँ बुझ्नुस्’, बाँस्कोटाले भने ।
नेता बाँस्कोटाले फरक प्रसङ्गमा आजको ठीक तीन महिनापछि संसदीय निर्वाचन हुने बताउँदै निर्वाचनले सिन्दुर र माला लगाएर विजयी जुलुस मात्रै होइन, विदेशीसामु कहिल्यै नझुक्ने नेतृत्व दिलाउने दाबी गरे । उनले भने, ‘गत चुनावमा पनि हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौँ, काम गरिरहेका छौँ, अब पनि गर्नेछौँ ।’
उनले वर्तमान सरकारले पुनर्जागरणको युग शुरु गरेको उल्लेख गर्दै निर्माण, गरिबीविरुद्ध र सुख, शान्तिको नवीनतम युगको थालनी गरेको बताए ।











