काठमाडौं, १८ माघ । ‘असंवैधानिक’ तवरले प्रतिनिधिसभा विघटन गरेपछि यतिखेर प्रधानमन्त्रीको चौतर्फी आलोचना र विरोध भइरहेको छ । जनताको दुई तिहाइ बहुमतलाई एकै सनकमा तिलाञ्जली दिएका प्रधानमन्त्री केपी शर्मा ओली हिजोआज ‘कालो’ डराउन थालेका छन् । सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदा कालो झण्डाको सामना गर्नु पर्ला भन्ने उनलाई डर छ । त्यसैले हिजोआज प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा ‘कालो माक्स’देखि वस्त्रमाथि समेत प्रतिबन्ध गर्न थालिएको छ ।
चितवनमा यस्तै दृश्य देखियो । प्रधानमन्त्री ओली शनिबार गोन्द्राङ–पुल्चोक ६ लेन सडक तथा अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्न चितवन पुगेका थिए । त्यसपछि उनले चितवनमै आफू निकट भेलालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली चितवनमा आउने थाहा पाएपछि नेकपा प्रचण्ड–माधव समूहले टायर बालेर विरोध जनाएका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको भन्दै प्रचण्ड–माधव समूह र कांग्रेसलगायत दलका कार्यकर्ताले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने गरेका छन् । त्यसैले शनिबार त्यही अवस्था बेहोर्नुपर्ला भन्ने डरले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कालो वस्त्रमाथि सुरक्षाकर्मीले कडाइ गरेका थिए । चितवनमा प्रधानमन्त्री ओलीको लागि कडा सुरक्षा अपनाइएको थियो । प्रधानमन्त्रीको सुरक्षामा खटिएका टोलीलाई पनि ‘कालो झण्डा’कै त्रास थियो । नभन्दै, उनीहरुले पत्रकारले घाँटीमा बेरेको कालो सलसमेत निकाल्न लगाए ।
भरतपुरको पुल्चोक–गोन्द्राङ सडक बिस्तारको शिलान्यास गर्ने कार्यक्रमको रिपोर्टिङ गर्न गएकी पत्रकार शान्ता अधिकारीको सल सुरक्षा टोलीले निकाल्न लगाएको थियो । उनले कालो सल घाँटीमा बेरेकी थिइन् । अधिकारीले आफू पत्रकार भएको बताउँदासमेत सल लुकाएरमात्र कार्यक्रममा जान दिइएको थियो ।
‘प्रधानमन्त्री सुरक्षाको विशेष टोलीले शान्ता जिलाई निक्कै निगरानी गरेको थियो । निगरानी गर्नुको एउटै कारण उहाँको कालो सल रहेछ’, पत्रकार अनिल ढकालले भने ‘अन्तमाः घाटीको सल निकाल्नै लगाइयो ।’ उनले पत्रकार महासंघको कार्ड देखाउँदासमेत कालो भएकै कारण सल लुकाउन परेको बताएकी छन् ।
चितवनको ‘कालो सल’ काण्ड पछिल्लो उदाहरण हो । हिजोआज प्रधानमन्त्री ओली सहभागी हुने प्रत्येक कार्यक्रममा कालो रंगका पहिरन, टोपी, माक्स, चस्मालगायतमा निगरानी गर्न थालिएको छ । यसअघि पहिलोपटक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना भएको आफ्नै कार्यकर्ता भेलामा ‘कालो माक्स’ लगाउनेहरुलाई प्रवेश दिइएको थिएन । त्यसयता प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कालो माक्स, टोपी, सल, चस्मालगायतका कालो वस्त्रमाथि प्रतिबन्ध लगाउन थालिएको हो ।
गत ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा मध्यवधि चुनाव घोषणा गरेकी छन् । यतिखेर प्रधानमन्त्री ओली पक्षको नेकपा चुनाव प्रचारमा जुटिसकेको छ । तर, नेकपा प्रचण्ड–माधव समूह, नेपाली कांग्रेसलगायतका दल प्रतिनिधिसभा विघटनको विरोधमा चरमबद्ध आन्दोलनमा छन् । प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्च अदालतमा बहस जारी छ ।
प्रधानन्त्री ओली भने आफूबाहेकका दलहरुको विरोध चिर्दै ‘तोकिएकै समयमा चुनाव हुन्छ’ भन्दै कार्यकर्ता भेला र सभाहरुमा सम्बोधन गर्न भ्याइनभ्याई छन् । उनलाई सरकार सञ्चालनको कुनै मतलव छैन । कोरोना संक्रमणको निहुमा नौ महिना यता सिंहदरबारको आँगन समेत नटेकेका प्रधानमन्त्री ओलीलाई भिडभाडको कुनै डर छैन । उनी निर्धक्क सभा र भेलामा सहभागी भइरहेका छन् । तर, प्रधानमन्त्री ओलीलाई हिजोआज कोरोनाभन्दा पनि आफ्नो अलोकत्रान्त्रिक कदमको आलोचना गर्नेहरुले ‘कालो झण्डा’ देखाउँलान् भन्ने डर बढेको देखिन्छ ।











