काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ ।
राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बसेको बैठकले ओली निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघि स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई पार्टीबाट हटाउन गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको श्रेष्ठले जानकारी दिए ।

यस्तै घोषित संघर्षका कार्यक्रम सफल पार्न सिङ्गो पाटीपंक्ति परिचालन हुने निर्णय पनि गरेको छ । २५ प्रतिशत केन्द्रीय सदस्यको मागबमोजित बैठक बसेको श्रेष्ठले बताएका छन् ।
पार्टीको आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । म्यानमारमा लोकतन्त्रको विरुद्धमा त्यहाँको सेनाले सत्ता हातमा लिनु अनुपयुक्त भन्दै बैठकले निन्दा गरेको छ ।











