काठमाडौं, २० माघ । नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच ‘मेयर कप–२०७७’ क्रिकेट प्रतियोगिता (पुरुष) सञ्चालन गर्ने सम्झौता भएको छ । मंगलबार प्रतियोगिता सञ्चालन गर्न क्रिकेट संघ र महानगरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थीतिमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल क्रिकेट संघले ‘काठमाडौं मेयर कप–२०७७’ प्रतियोगिता चैत मसान्तसम्म सञ्चालन गर्नेछ । प्रतियोगिता सञ्चालनको लागि महानगरपालिकाले ५० लाख रूपैयाँ अनुदान दिनेछ ।
सम्झौता कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाक्यले महानगरले खेल क्षेत्रको बिकासका लागि आवश्यक बजेट बढाइएको जानकारी दिए । अर्को बर्ष खेलकुदमा अझै बजेट बढाउने योजना रहेको उनले बताए ।
त्यस्तै संघका अध्यक्ष चन्दले स्तरीय क्रिकेट प्रतियोगिता गर्ने दाबी गरे । उनले प्रतियोगिताबाट अन्तराष्ट्रिय प्रतियोगीतामा खेल्ने टीमलाई बलियो बनाउने लक्ष्य रहेको जानकारी दिए ।
प्रतियोगिता एक दिवसीय फर्म्याटमा सञ्चालन गरिने नेपाल क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता कीर्तिपुरस्थित टियु मैदानमा हुने बताइएको छ ।











