
काठमाडौं, २१ माघ । सत्ता पक्ष र प्रतिपक्षी आ–आफ्नो बचाउमा आन्दोलन गरिरहेकै बेला एक जना राज्यमन्त्रीले भने गीत गाएरै विश्व रेकर्ड राखेका छन् ।
नेपाल सरकारको सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर गीत गाएर ‘गिनिज बुक अफ वल्र्ड’ मा आफ्नो नाम लेखाएका छन् । राज्यमन्त्री मानन्धरलाई मंगलबार नयाँदिल्लीमा एक समारोहबीच ‘गिनिज बुक अफ रेकर्डस्’को प्रमाण पत्र प्रदान गरिएको छ । उनलाई भारतको सामाजिक विकास राज्यमन्त्री रामदास अठवालेले विश्व रेकर्डस्को प्रमाण पत्र प्रदान गरेका छन् ।
यससँगै मानन्धर गीत गाएर विश्व रेकर्ड कायम गर्ने पहिलो वहालवाला मन्त्री बनेका छन् । राज्यमन्त्री मानन्धरले यही गएको २० डिसेम्बर २०२० मा चार घण्टा पाँच मिनेट २० सेकेण्डको अवधिमा विभिन्न ५९ वटा गीत गाएका थिए ।
काठमाडौंको अष्टनारायण सिनेमा हलमा आयोजित एकल कन्सर्टमा उनले नेपाली र नेपाल भाषाका गीतहरु नन् स्टप गाएर यो कीर्तिमान कायम गरेका हुन् ।

कार्यक्रममा वल्र्ड बुक अफ रेकर्डस् लण्डनका चियरमेन दिवाकर सुकर, वल्र्ड बुक अफ रेकर्डसका अध्यक्ष सन्तोष शुक्ला, वल्र्ड बुक अफ रेकर्डस् स्वीरल्याण्डका अध्यक्ष पुन जेनर, वल्र्ड बुक अफ रेकर्डस नेपालका अध्यक्ष सागर कटवाललगायत जर्मन, भारत र युएईका विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न विधामा विश्व कीर्तिमान कायम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।














