काठमाडौं, २१ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीलाई शान्दार जित दिलाउनको लागि शर्मिला थापाले ५, सपना लामाले दुई तथा हेमा चौधरी गोल गरिन् भने कप्तान अन्जली वाइवा, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले समान एक-एक गोल गरिन् ।
खेलको तेस्रो मिनेटमा हेमा चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । उन कप्तान अन्जली वाइवाको पासमा गोल गोल गरेकी थिइन् ।

खेलको सातौं मिनेटमा विमला चौधरीको पासमा शर्मिला थापाले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । त्यसको एक मिनेटपछि नै कप्तान अन्जलीले गोल गर्दै ३-० ले अगाडि बढाइन् । उनले शर्मिला थापाको पासमा गोल गरेकी थिइन् ।
खेलको १३ औँ मिनेटमा कप्तान अन्जलीको पासमा शर्मिलाले गोल गर्दै आर्मीलाई ४-० ले अघि बढाइन् । २३औं मिनेटमा बिमला चौधरीको पासमा शर्मिलाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा आर्मी ५-० ले अघि बढाइन् । २९औं मिनेटमा रश्मि घिसिङको पासमा शर्मिलाले व्यक्तिगत चौथो गोल गरिन् ।
३० औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई ७-० ले अघि बढाइन् । ३८औं मिनेटमा शर्मिला थापाले विमलाको क्विक पासमा व्यक्तिगत पाँचौ गोल गर्दै आर्मीलाई ८-० ले अघि बढाईन् । ४८औं मिनेटमा विमला बिकले गोल गर्दै आर्मीलाई ९-० ले अघि बढाइन् । ८४औं मिनेटमा रश्मिले गोल गर्दै आर्मीलाई १०-० ले अघि बढाइन् ।
८७औं मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई ११-० लेअघि बढाइन् । इन्जयुरी समयको थप गरिएको पहिलो मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई १२-० को फराकिलो जित दिलाइन् ।
जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलबाट १३ अंक पुगेको छ। शीर्षस्थानमा रहेको एपिएफको १८ अंक छ । पराजित चौदण्डीगढीले अंकको खाता खोल्न सकेको छैन ।











